रूपन्देही | रूपन्देहीको कोटहीमाइ गाउँपालिका–१ सिपवाका कोरोना संक्रमण देखिएका युवा लकडाउनको अवधिमा सीमाबाट लुकेर छिरेको खुलेको छ ।
भारतको नयाँ दिल्लीमा मजदुर गर्ने उनी ४ दिन पैदल हिँडेर वैशाख ५ गते सीमाबाट लुकेर गाउँ छिरेका थिए । ट्रक र पैदल यात्रा गर्दै आएका उनी गाउँ छिर्दा भने एक्लै थिए ।
सुरक्षाकर्मीलाई छल्दै लुकेर गाउँ छिरेका उनलाई उनकै दाजुले घर नपुग्दै कोटहीमाइको बौरियाघाटबाट क्वारेन्टाइन पुर्याएका थिए । गाउँपालिकाले उनलाई मझगवामा स्थापना गरेको श्रीमर्चवार आदर्श मावीको क्वारेन्टाइनमा राखेको थियो । त्यहाँ उनीसँगै १६ जना बसेका थिए । तीमध्ये तीनजना बिहीबार भारतबाटै आएर सीमाबाट लुक्दै गाउँ छिरेका थिए । रातिमा गाउँ छिरेका उनीहरुलाई स्थानीयले नै क्वारेन्टाइनमा पुर्याएका थिए ।
क्वारेन्टाइनमा गाउँउपालिकाबाट खटिएका स्वास्थ्यकर्मीले उनीसहित १० जनाको थ्रोट स्वाब बुधबार संकलन गरेका थिए । बाँकी ६ जनाको स्वाब शुक्रबार संकलन भएको गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवले बताए ।
रूपन्देहीको भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पोर्टेवल पीसीआरको प्रोसेसिङ किट सकिएपछि उनीसहित १ सय ९ जनाको स्वाब परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर राजेन्द्र गिरीले बताए । अन्यको स्वाब टेकुमै परीक्षणकै क्रममा छ ।
संक्रमित फेला परेको गाउँपालिका रूपन्देहीको दक्षिणी क्षेत्र हो । भारतसँग सीमा जोडिएका मर्चवारी, समरीमाई, कोटहीमाइ गाउँपालिका सुरुदेखि नै बढी जोखिम देखिएका क्षेत्र हुन् । त्यस क्षेत्रमा संकलन भएको अधिकांश थ्रोट स्वाब परीक्षणका लागि काठमाडौं पठाउन थालिएको छ । संक्रमण देखिएका युवालाई बिहीबार नै बुटवल धागो कारखानामा स्थापना गरिएको बुटवल अस्थायी कोरोना अस्पतालका आइसोलेसनमा राखिएको छ ।