बहराइनमा एकै दिन ३१ नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १५७ पुग्यो
वीरगंज संजाल
१९ बैशाख २०७७, शुक्रबार ०६:२७
२५५७
वीरगंज | बहराइनमा थप ३१ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ ।योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या १५७ जना पुगेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । यसअघि १२६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो ।
बहराइन सरकारले सबै नेपालीको आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासको भनाइ छ ।
यस्तै, दूतावासले कोरोनाका कारण समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ । समस्यामा पर्ने नेपालीको एकीकृत विवरण लिने र समस्या समाधानका लागि सहजीकरण गर्न समस्यामा परेका नेपालीको विवरण सङ्कलन गर्न लागिएको दूतावासले जनाएको छ । आफूलाई परेको समस्या अनलाइनमार्फत भर्न सकिने पनि दूतावासले जनाएको छ ।
साथै, समस्यामा पर्ने नेपाली श्रमिकलाई विवरण टिपाउनका लागि पहल गर्न दूतावासले बहराइनमा रहेका नेपाली समुदाय र संघसंस्थालाई पनि आग्रह गरेको छ । बहराइनमा झण्डै ३० हजार नेपाली कार्यरत छन् ।