एजेन्सी । चीनले सरसफाइलाई बढावा दिन असभ्य तौर–तरिकाहरूमाथि प्रतिबन्ध लगाएको छ । जसअनुसार मुख हात वा कुनै टिस्यु, रुमालबिना खोक्न, हाच्छ्युँ गर्न प्रतिबन्ध लगाइएको छ ।
कोरोना भाइरसको महामारीका दौरान सरसफाइ राख्ने उद्देश्यले जारी नियमावलीमा यसलाई समावेश गरिएको छ । समाचार एजेन्सी एएफपीका अनुसार सार्वजनिक स्थलमा सुरक्षा स्थितिलाई सुदृढ बनाउने उद्देश्यले उक्त कदम उठाइएको हो ।
चीनको पछिल्लो कदमलाई नागरिकलाई सभ्य व्यवहारप्रति प्रोत्साहन गर्न उठाइएको कदमका रूपमा हेरिएको छ । साथै यसलाई कोरोना भाइरस महामारीसँग पनि जोडेर हेरिँदै छ । चीनमा अहिलेसम्म ८२ हजारभन्दा बढी संक्रमति देखिएका छन् ।
चीनले लगाएको प्रतिबन्ध उल्लंघन गर्ने व्यक्तिलाई जरिवाना तिराइने बीबीसीले जनाएको छ । यसका साथै अस्वस्थ व्यक्तिले सार्वजनिक स्थलमा मास्क प्रयोग गरेको नपाइए कारबाही स्वरूप जरिवाना तिर्नुपर्नेछ । चीनले लागु गरेको नियममा सार्वजनिक स्थलमा एक–अर्काबीच एक मिटरको दूरी कायम गर्न पनि भनिएको छ ।
चीनले आफ्ना नागरिकलाई सफा कपडा लगाउन, ‘सर्टलेस’ नघुम्न पनि निर्देशन दिएको छ । बेइजिङमा यसअघि नै असभ्यताको श्रेणीमा राखिने व्यवहारहरू (जस्तै थुक्ने, फोहोर जताततै फाल्ने, कुकुरलाई खुला छाड्ने, घरको माथिबाट सामान फाल्ने, खुला स्थानमा शौच गर्ने र धूमपान गर्ने आदि) मा अत्यन्तै कडाइ गरिएको बीबीसीले जनाएको छ । –बीबीसी