बीरगञ्ज। पर्साको पर्सागढी नगरपालिकामा पनि राहतमा कुहिएको चामल बाँडेको भेटिएको छ । सो पर्सागढी नगरपालिका वडा नं. ५ पँचरुखीमा वितरण गरिएको राहतकोचामल कुहिएको पाइएको हो ।
गत बैशाख ६ गते नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा वितरण गरिएको राहतको चामल कुहिएको पाएको स्थानीयले गुनासो गरेका छन् । सो नगरपालिकाको वडा नं. ५ ले गत वैशाख ६ गते पँचरुखी र भिगना टोलका २ सय २४ जना विपन्न व्यक्तिलाई राहत वितरण गरेको थियो ।
सोही दिन राहत लिएकामध्ये केही स्थानीयले चामल कुहिएको गुनासो गरेका हुन् । राहतमा पाएको चामलको बोराभित्र चामल डल्लो परेको र सडेको अवस्थामा भेटिएको स्थानीय बताउँछन् ।
स्थानीय नथुनी मियाँ हजाम, रामकरण पटेल, महम्मद रसिक मियाँ, लक्ष्मण माझी, जिउत माझी लगायतले राहतमा सडेको चामल परेको गुनासो गरेका छन् । सोही दिन वडा नं. ६ का लागि पालिकाले पठाएको ८४ पोका राहत पँचरुखीमा लुटिएको पनि थियो ।
तर नगरपालिकाका प्रमुख लोकनारायण यादवले भने राहतको चामल कुहिएको हुनै नसक्ने दाबी गरेका छन् । उनका अनुसार पालिकाको ९ वटा वडा मध्ये ८ वटामा राहत वितरण भइसकेको तर कतैबाट यस्तो गुनासो आएको छैन ।