वीरगञ्जबाट फर्केकी कैलालीकी महिलाले पनि जितिन् कोरोनालाई, अस्पतालबाट डिस्चार्ज
वीरगंज संजाल
११ बैशाख २०७७, बिहीबार १८:१७
२६७१
कैलाली। सुदूरपश्चिममा चौंथो कोरोना संक्रमित महिला पनि कोरोनालाई जितेर घर फर्किएकी छिन्।
कैलालीको लम्की चुहा नगरपालिका-१ कि ५० वर्षीया पाना बिक आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्।
लगातार दुईपटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर जगदीश जोशीले बताए।
वीरगञ्जबाट आएर १२ दिन क्वारेन्टाइनमा बसेकी उनलाई २२ चैतमा कोरोना पुष्टि भएको थियो।
१७ चैतमा ३५ जनासहित वीरगञ्जदेखि बसबाट कैलालीको लम्कीस्थित् घर आइपुगेकी ती महिलाको रिपोर्ट पोजिटिभ देखिएपछि १ वैशाखमा सेती प्रादेशिक अस्पताल भर्ना भएकी थिइन्।
योसँगै सुदूरपश्चिम प्रदेशमा चारजना कोरोनालाई जितेर घर फर्किएका छन्।
धनगढी उप-महानगरपालिका-५ का ३४ वर्षीय अमृत शाही, लम्कीका २१ वर्षीय राज बिक र कञ्चनपुर बेदकोटका ४१ वर्षीय इन्द्र बिक यसअघि नै घर फर्किसकेका छन्।
अब धनगढी उप-महानगरपालिका-५ की ३४ वर्षीया महिला मात्रै सेती अस्पतालको आइसोलेसनमा उपचाररत रहेकी छिन्।
नेपालमा अहिलेसम्म ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएकोमा कैलालीकी यी महिलासहित १० जना निको भएर घर फर्केका छन्।