सर्लाहीको क्वारेन्टाइनमा आमाबुबासँगै रहेका आठ महिने शिशुको मृत्यु
वीरगंज संजाल
१० बैशाख २०७७, बुधबार १८:२७
४०७७
काठमाडौं : सर्लाहीको क्वारेन्टाइनमा रहेका आठ महिने शिशुको मृत्यु भएको छ ।
सर्लाहीको उत्तर–पूर्वी चरेभेगस्थित लालबन्दी नगरपालिका–१५ परवानीपुर झल्ला चौडीमा आमाबुबासँगै क्वारेन्टाइनमा रहेका आठ महिने शिशुको मृत्यु भएको हो ।
रौतहटको गरुडास्थित एक इँटा उद्योगमा कार्यरत परवानीपुर शीर फुलजोरका तारादेवी वाईवा आफ्नी श्रीमती र आठ महिने छोरासहित तीन दिनअघि मात्रै गाउँ आएका थिए । उनीहरुलाई तत्काल घर पठाउँदा गाउँले त्रसित हुने भन्दै स्थानीय जनप्रतिनिधिले झल्ला चौडीस्थित रुन्चे बजारको विद्यालयमा अस्थायी क्वारेन्टाइन निर्माण गरी बस्ने व्यवस्था मिलाएका थिए ।
सोही क्वारेन्टाइनमा मंगलबार बेलुका आमाबुवासँगै सुतेका बालकको राती मृत्यु भएको हो । बुवा तारादेवी वाईवाले बच्चालाई राती अचानक धेरै ज्वरो आएको र निमोनियाको समस्या पनि देखिएको बताएका वुधवार बिहानै घटनास्थलमा पुग्नु भएका स्थानीय युवा दीपक साशङ्करले जानकारी दिए । झल्ला चौडी ईश्वरपुर नगरपालिका वडा नं. १२ घारिबथानको फूलजोर गाउँ नजिकै पर्छ ।
यस्तै लालबन्दी बजारस्थित नगरपालिकाबाट स्वास्थ्यकर्मीहरुको टोली घटनास्थलतर्फ हिँडेको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिए ।
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको अवस्थामा क्वारेन्टाइनमा राखिएका बालकको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन् ।