काठमाडौं, १० बैसाख । कोरोना भाइरस संक्रमण त्रासका कारण शिक्षण संस्था लामो समयसम्म बन्द रहे पढाइ तथा परीक्षा सञ्चालनका लागि विभिन्न पद्धतिबारे शिक्षा मन्त्रालयले छलफल सुरु गरेको छ ।
लकडाउनका कारण शिक्षण संस्था बन्द भएर शैक्षिक सत्र नै तल–माथि हुन सक्ने खतरा बढेपछि मन्त्रालयले पढाइबारे तयारी गरेको हो । मन्त्रालयले पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साहको संयोजकत्वमा २८ सदस्यीय समिति बनाएर कोरोनाको प्रभाव शिक्षण संस्थामा कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा अध्ययन थालेको छ ।
उक्त समितिका सदस्यमध्येबाट विषयविद् सम्मिलित ६ वटा उपसमिति गठन गरेको छ । नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्माको संयोजकत्वमा रहेको शिक्षण विधि तथा विकल्प उपसमितिले पढाइका विकल्पबारे अध्ययन गरिरहेको छ ।
संयोजक शर्माका अनुसार पहिलो विकल्पका रूपमा अनलाइन माध्यमबाट पढाउन सकिन्छ कि भन्ने विषयमा छलफल भइरहेको छ । तर, मुलुकभरका विद्यार्थीलाई अनलाइन माध्यमबाट पढाउँदा प्रभावकारी हुनेमा उक्त उपसमितिका सदस्य नै विश्वस्त छैनन् ।
अनलाइनबाट पढाउँदा प्रभावकारी हुन नसक्ने ठाउँमा स्थानीय तहमा क्रियाशील सञ्चारमाध्यममार्फत पढाउने विषयमा छलफल भएको छ । स्थानीय तहमा सञ्चालित रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइनलाई प्रयोग गर्ने विषयमा अध्ययन भइरहेको छ ।
एक –अनलाइन माध्यमबाट पढाउन सकिने दुई– सञ्चारमाध्यममार्फत पढाइने तीन – सहजकर्ता र अभिभावकलाई परिचालन गर्न सकिने
यो माध्यमबाट पनि पढाइ सम्भव नहुने क्षेत्रमा सहजकर्तामार्फत र अभिभावकलाई परिचालन गरेर पढाइ सुचारु गराउने विषयमा पनि अध्ययन भइरहेको छ । शर्मा नेतृत्वको उपसमितिले यस विषयमा अनौपचारिक रूपमा आफ्ना अवधारणा साह नेतृत्वको समिति समक्ष पेस गरिसकेको छ ।
‘पढाइ सुचारु गर्न धेरै विकल्प छन् । तर, छोटो समयको तयारीबाट गर्नुपर्ने भएकाले सोचे जस्तो सफलता पाइन्छ कि पाइँदैन भन्ने विषयमा हामी आफंै ढुक्क छैनौं’, शर्माले भने, ‘हामीले सकेजति कोसिस गरिरहेका छौं । हेरांै कति सफल भइन्छ ।’
विद्यालय तहदेखि विश्वविद्यालयसम्मको पढाइ वैकल्पिक तरिकाबाट सञ्चालन गर्नुपर्ने हुन्छ । कोरोना संक्रमण त्रासका कारण लकडाउन गरिएको भारत, बेलायत, अमेरिकालगायत मुलुकमा पनि यही विधिबाट पढाइ सञ्चालन भइरहेकाले नेपालमा पनि अभ्यास गर्न लागिएको शर्माले बताए ।
कोरोना संक्रमण त्रासका कारण विद्यालय तहमा सबैभन्दा धेरै परीक्षार्थी सहभागी हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा ११ र १२ को परीक्षा समेत रोकिएको छ । त्यसबाहेक सबै विश्वविद्यालयको परीक्षा तथा पढाइ रोकिएको छ ।
शिक्षाविद्ले भने विद्यालयले नै सञ्चालन गरेको पहिलो, दोस्रो र तेस्रो तहको परीक्षामा परीक्षार्थीले पाएको प्राप्तांकलाई आधार मानेर परीक्षार्थीलाई वार्षिक परीक्षाको अंक दिएर उत्तीर्ण गराउन सरकारलाई सुझाव दिएका छन् ।
वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्दा विद्यालयदेखि विश्वविद्यालय तहसम्मका ७५ लाखभन्दा बढी विद्यार्थीलाई समेट्नुपर्ने हुन्छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘लकडाउन लामो समयसम्म लम्बिएन भने त पुरानै पद्धतिअनुसार पढाइ सञ्चालन गरे पनि अप्ठ्यारो पर्दैन । तर, लकडाउन छोटिएन भने विभिन्न विकल्पबारे सोचिएको छ ।’ कोरोना त्रासका कारण सरकारले चैत ११ गतेदेखि मुलुकभर लकडाउन गरेको छ । अन्नपूर्ण पोष्टबाट