भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघ्यो, ६ सय बढीको मृत्यु
वीरगंज संजाल
१० बैशाख २०७७, बुधबार ०७:४९
५१२५
भारत | भारतमा मंगलबार एकैदिन १५ सयभन्दा बढीमा कोरोना भाइरस संक्रमण भएको पाइएको छ। सोही दिन कोरोनाका कारण भारतमा ५३ जनाको मृत्यु भएको छ।
भारतमा कोरोना भाइरसका संक्रमण सुरु भएयता एकैदिन यति ठूलो संख्यामा मृत्यु भएको मंगलबार पहिलो पटक हो। यसअघि एकैदिन कोरोनाका कारण यति ठूलो संख्यामा बिरामीको मृत्यु भारतमा भएको थिएन।
वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार मंगलबार एकैदिन भारतमा १ हजार ५ सय ४१ जना कोरोना भाइरसका नयाँ बिरामी थपिएका थिए भने ५३ जनाको मृत्यु भएको थियो। योसँगै भारतमा कोरोना भाइरस संक्रमितको कूल संख्या २० हजार ८० पुगेको छ भने ६ सय ४५ जनाले ज्यान गुमाइसकेका छन्।
भारतमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिएसँगै त्यहाँ रहेका नेपालीमा संक्रमणको खतरा बढेको छ। भारतको मुम्बईमा अछामक एक नेपाली परिवारका ८ जनालाई कोरोना संक्रमण भएको छ भने उनीहरु सबैको अहिले उपचार चलिरहेको छ।
भारतमा १० लाखभन्दा बढी नेपालीहरु रहँदै आएका थिए, जसमध्ये केही लाख लकडाउन सुरुभन्दा अघि र लकडाउनका बेला स्वदेश फर्कीसकेका छन्। अझै पनि ठूलो संख्यामा नेपाली भारतमा रहेका छन्।
भारतमा रहेका कोरोना भाइरस कूल संक्रमित मध्ये ३ हजार ९ सय ७५ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। अहिले भारतमा १५ हजार ४ सय ६० जना कोरोनाका बिरामी उपचारत छन्। कोरोना भाइरस संक्रमण भए नभएको पक्ता लगाउन भारत सरकारले हालसम्म ४ लाख ४७ हजार ८ सय १२ जनाको स्वास्थ्य परिक्षण गरिसकेको छ।