प्रदेश २ मा ६०९जनाको स्वाब परिक्षण, ५९० को नेगेटिभ, ४ को पोजेटिभ
वीरगंज संजाल
९ बैशाख २०७७, मंगलवार २१:३३
२५८१
पर्सा | प्रदेश २ मा अहिलेसम्म ६ सय ९ जना कोरोना भाइरसका शंकास्पद बिरामीहरुको थ्रोट स्वाब परिक्षण गरिएको छ । जसमध्ये ४ जनाको रिपोर्ट यसअघि नै पोजेटिभ देखाइसकिएको छ भने ५ सय ९० जनाको रिपोर्ट नेगेटिभ आएको छ । १५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
प्रदेशमा कोरोना संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ३ हजार ५ सय ८३ बेड क्षमताको १ सय ६४ वटा क्वारेन्टाइनमा १ हजार २ सय ४ जना शंकास्पद व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए । प्रदेशभरिमा अहिले २ हजार ३ सय ४२ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय २७ बेड क्षमताको आईसोलेसनमा १५ जना भर्ना रहेको उनले बताए ।
सचिव घिमिरेका अनुसार रौतहटमा ६ सय ५ बेड क्षमताको १५ वटा क्वारेन्टाइनमा अहिले १ सय ८५ जना रहेका छन् भने २ सय ७६ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।
रौतहटमा ३५ बेड क्षमताको आईसोलेसनमा अहिले कुनै शंकास्पद बिरामी नरहेको बताइएको छ । त्यस्तै बारामा ४ सय ३९ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले २ सय २ जनालाई राखिएको छ । बारा जिल्लामा निर्माण गरिएको ४८ वटा आईसोलेसन बेडमा अहिले २ जना शंकास्पद बिरामी रहेको घिमिरेले जानकारी दिए । बारामा अहिले २ सय ४ जना होम क्वारेन्टाइनमा छन् ।
पर्सामा ४ सय ८९ बेड क्षमताको १६ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ २ सय ४९ जना क्वारेन्टाइनमा र ३ सय १६ जना होम क्वारेन्टाइनमा रहेका छन् । पर्साको बिभिन्न ठाउँमा रहेको ३५ बेडको आईसोलेसनमा अहिले ४ जना शंकास्पद बिरामीलाई राखिएको छ ।
सप्तरीमा ५ सय ७५ बेड क्षमताको ३२ वटा क्वारेन्टाइनमा अहिले १ सय ३९ जनालाई निगरानीमा राखिएको छ भने १ सय ३४ जना होम क्वारेन्टाइनमा छन् । सप्तरीमा रहेको १५ वटा आईसोलेसन बेडमा अहिले ३ जना शंकास्पद बिरामी भर्ना रहेको उनले बताए ।
सिरहामा २ सय ५८ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले ९९ जना र होम क्वारेन्टाइनमा १ सय ८६ जना रहेका छन् । त्यस जिल्लामा ४१ बेडको आईसोलेसन रहेकोमा त्यहाँ अहिले ३ जना शंकास्पद बिरामीलाई राखिएको छ ।
धनुषामा ३ सय ६२ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले ९८ जनालाई राखिएको उनले जानकारी दिए । यस जिल्लामा १ सय ३७ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरमा १२ बेडको आइसोलेशन रहेकोमा त्यहाँ ३ जना शंकास्पद बिरामीलाई राखिएको छ ।
त्यस्तै महोत्तरीमा ३ सय ८८ बेड क्षमताको १९ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ अहिले ६ सय ६२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा ८५ जनालाई राखिएको छ । महोत्तरीमा २६ बेडको आईसोलेसन रहेपनि अहिले ति आईसोलेशनमा कुनै शंकास्पद बिरामी नरहेको उनले बताए ।
सर्लाही जिल्लामा ४ सय ६७ बेड क्षमताको ३० वटा क्वारेन्टाइनमा अहिले १ सय ४७ जना रहेका छन् भने ४ सय २७ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । १५ वटा आईसोलेशन बेड रहेपनि अहिले त्यसमा कुनै शंकास्पद बिरामी भर्ना नरहेको बताइएको छ ।