गहिरो पीडा व्यक्त गर्ने केहि शब्द छैन, छाती पत्थर झैं जब्बर भएको छ…
वीरगंज संजाल
८ बैशाख २०७७, सोमबार १८:१५
५३११
जनकपुरधाम | कोरोनाको त्रासका कारण अहिले विश्वभर लकडाउन छ । नेपालपनि पुर्णरुपले लकडाउनमा छ । सबैलाई एकातर्फ कोरोनाको डर छ भने अर्कोतर्फ लकडाउनका कारण दिनहुँ ज्याला मजदुरी गरेर खाने ब्यक्तिहरु भने खान नपाएर पीडामा छन् ।
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ बसहियामा केहि व्यक्तिहरू भोकमरीको समस्याले जुधिरहेका छन् ।
आफ्नो परिवारको लागि आशाको किरण जागे झैं सञ्चारकमीलाई हेर्ने्वित्तिकै फुसको छानो हेराउँदै नैन कुमारी राउतले गहभरी आँसु झार्दै भनिन्–‘घर त टुटल है,बड्ड मुस्किलसँ रहैछियै सर हमसभ,यी कोन बन्दी भगेल है जे धियापुताके खाहुलागि नै पुगै है । दु गो धियापुता है,अपने है आ हम छियै । चाइर आदमीके परिवार बड्ड दिक्कतसँ चैलरहल है सर कि सुनाउ । वार्ड अध्यक्ष त भोट लेलाके बाद तहियासँ घुइरोक नै अलै । आहाँसभ कोनो जोगाड लगबादिय हमरासभसन लोकके लेल ।’
उनीभन्दा पनि बढी पीडा ३५ बर्षिया रिना देवीको छ । घरमा ५ छोरी र उनी आफै मात्र छिन् । त्यसमा पनि दुई छोरी बोल्नै नसक्ने । उनको श्रीमान् विश्वनाथ दास कामको शिलशिलामा २०७२ सालमा आफ्ना गाउँकै साथीहरुसँग काठमाडौँ गएका थिए । तर अहिलेसम्म उनको अत्तोपत्तो छैन् । श्रीमान्को २०७२ सालको भूकम्पमा परेर ज्यान गएको हुनसक्ने रिनाको आशंका छ । अहिले ५ छोरीको पालन पोषण गर्ने जिम्मा पनि उनकै काँधमा छ । दुई छोरी बोल्नै नसक्ने भएपछि उनीहरुको बिबाहको चिन्ताले पनि उनलाई दिनरात सताईरहेको हुन्छ ।
रिना भन्छिन्– ‘दिन खाए राती के खाने चिन्ता त छँदैथियो त्यसमाथि अहिले लकडाउन भएपछि झनै समस्या थपिएको छ ।’
‘घर पनि ऐलानी जग्गामा छ । वैदेशिक रोजगारीमा रहेका केहि सहयोगी मनहरुले सामाजिक सञ्जालमा मेरो पीडा देखेपछि ८३ हजार रुपैयाँ घर बनाउनका लागि सहयोग गरेका थिए,अनि मात्रै घर बनाउन पाएँ,‘उनले भनिन् ।’
अनिता देवी ५० वसन्त पार गरिसकेकी छिन् । यद्यपि काममा अझै फूर्तिला छिन् । तर नेपाल नै लकडाउन भएपछि उनी पनि कामविहिन बनेकी छन् । काम नपाएपछि पुरै परिवारको जिविका चलाउन एकदमै गाह्रो भएको छ । घरमा श्रीमान् सहित ५ जनाको परिवार छ । श्रीमान् र छोरा दुबै विरामी छन् । तर लकडाउनका कारण उपचारको कुरा त परै जाओस उनको परिवारको दुई छाक खाना पनि भगवान भरोसे छ ।
उनले भनिन्– ‘हम सभ उपरेबलाके भरोसे बाँचल छी, सभसँ माँगि चाँगि कऽ खाइत छी ।’ अर्थात हामी भगवानकै भरोसामा बाँचेका छौं,गाउँकै अन्य व्यक्तिहरुसँग माँगेर खान्छौं । लकडाउनमा सरकारले उनीहरुलाई राहत उपलब्ध नगराएपछि भोक भोकै दिन कटाउनुपर्ने बाध्यता रहेको छ ।
बसहियामा नैन कुमारी,रिना र अनिता जस्तै अन्य कयौं परिवार छन् जसको घरमा लकडाउनको २८ औं दिनसम्म पनि सरकारी राहत पुगेको छैन् ।
भोला कर्ण जिल्ला प्रशासन कार्यालय धनुषामा लेखापढीको काम गर्दै आईरहेका थिए । परिवारको आवश्यक्ता राम्ररी नै पुर्ती गरिरहेका थिए । तर त्यहाँ बाहिर बस्ने लेखापढी गर्नेहरुलाई सरकारले नै हटाइदिएपछि उनी एकाएक बेरोजगार भए । जसोतसो दुःख गरेर कमाएको घरमा राखेको १ लाख रुपैयाँ र रोेयल्स बैंकबाट ऋण लिएर उनले ई–रिक्सा किने । तर अचानक कोरोना भाइरसको संक्रमणको त्रासका बिच भएको लकडाउनका कारण अब त्यो रिक्सा पनि बन्छ छ । काम पनि छुट्यो,रिक्सा पनि बन्द र माथिबाट बैंकको ऋण तिर्ने बोझ । घरमा खाने चामल पनि नभएको सुनाउँदै उनले भने– ‘दाल र तरकारी झन कहाँबाट आउँछ।’
छोराको शरिरमा रगतको कमी छ,उसको उपचार पनि अत्यन्त जरुरी छ तर जहाँ भोक मेटाउने उपाय छैन् त्यहाँ रोग भगाउने उपाय मैले कसरी लगाउने,गहभरी आँसु झार्दै भोलाले आफ्नो पीडा सुनाए । यी गहिरो पीडा व्यक्त गर्ने केहि शब्द छैन् उनीसँग छाती पत्थर झैं जब्बर भएको छ ।
लकडाउनको एक महिना बितेपनि प्रदेश सरकार र स्थानीय सरकार अहिलेसम्म लगत संकलनमै व्यस्त देखिएका छन् ।