धनगढी | कैलालीको लम्कीचुहा नगरपालिका ९ प्रतापपुरका २१ वर्षीय युवकले कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।उनी कोरोनालाई जितेर आज (आईतबार) अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनी धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत् थिए ।२२ चैतमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएका उनको हिजो ६ वैशाखमा दोश्रोपटक परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो।
त्यसको २४ घण्टा पछि आज अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको सेती प्रादेशिक अस्पतालमा प्रवक्ता डा. जगदीश जोशीले बताए। उनले युवकको दुईपटक नै कोरोना रिपोर्ट नेगेटिभ आएपछि आज घर पठाइएको बताउँदै घर फर्किएपछि पनि एक हप्तासम्म सामाजिक दूरी कायम गर्न आग्रह गरिएको बताए।
मुम्बईबाट गत चैत ११ गते घर फर्किएका उनलाई चैत २२ गते कोरोना पोजिटिभ देखिएको थियो । १४ दिन क्वारन्टिनमा र १५ दिन आइसोलेसन गरी २९ दिन कोरोनासँगको लडाई जितेर उनी घर फर्केका हुन् । नेपालमा कोरोना लागेर निको भएका उनी चौथो व्यक्ति हुन् ।गत माघ ९ गते नै पहिलो कोरोना संक्रमित एक युवक कोरोनालाई जितेर डिस्चार्ज भएका थिए।यसैगरी, शनिबार मात्रै बागलुङको धौलागिरी अस्पतालमा १८ दिनदेखि उपचार गराइरहेकी ६५ वर्षीय महिला पनि निको भएर घर फर्किएकी थिइन् ।
त्यस्तै, शनिबार नै काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा २७ दिनदेखि उपचार गराइरहेकी युवतीको डिस्चार्ज भएको थियो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ३० जनामा कोरोना संक्रमण देखिएको छ। अन्य २७ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।