बागलुङकी कोरोना संक्रमित महिलाको रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्ज गर्ने तयारी
वीरगंज संजाल
६ बैशाख २०७७, शनिबार २०:२०
२२९१
बागलुङ : नेपालको छैटौं कोरोनाभाइरस (कोभिड–१९) संक्रमित बागलुङकी ६५ वर्षीया महिला डिस्चार्ज हुने भएकी छन् । २४ घण्टाभित्र गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गर्ने तयारी भएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले बताए ।
उनले महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएको पुष्टि गरे । उनले ती वृद्धालाई डिस्चार्ज गर्ने तयारी गरिएको पनि जानकारी दिए ।
गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी महिला चैत १९ देखि धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचाररत छन् । उनको बिहीबार गरिएको परीक्षणको रिपोर्ट पनि नेगेटिभ रिपोर्ट आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए ।
उनले दम र उच्च रक्तचापको विरामी भएकाले औषधि खाइरहेकी थिइन् ।
निर्देशक शर्माले उनलाई डिस्चार्ज गरिएपछि १४ दिन सुरक्षित होम क्वारेन्टाइमा राखिने नियमित फलोअप गरिने बताए ।
यसैगरी अर्की संक्रमित १९ वर्षीया युवतीको भने चौंथो स्वाब परीक्षणको नतीजा पनि पोजिटिभ आएको थियो । उनको स्वाब परीक्षण भइरहेको र रिपोर्ट आइतबार आउने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनी चैत १५ देखि आइसोलेसनमा छन् । उनी पनि सोही विमानमा नेपाल आएकी थिइन् ।
आजै काठमाडौंस्थित टेकु अस्पतालबाट नेपालको दोस्रो कोरोना संक्रमित १९ वर्षीया युवती डिस्चार्ज भएकी छन् ।