अबको इपिसेन्टर अफ्रिका बन्न सक्छ, कम्तिमा तीन लाख मानिसको जीवन जोखिममाः डब्लुएचओ
वीरगंज संजाल
६ बैशाख २०७७, शनिबार १२:४४
२७३९
कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ ।
कोरोना भाइरसको महामारीबाट अफ्रिकामा कम्तिमा तीन लाख मानिसको ज्यान जाने सक्ने पनि संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् । महामारीले सो क्षेत्रका तीन करोड मानिसलाई गरिबीको रेखामुनि धकेल्ने सम्भावना रहेको पनि संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ ।
अघिल्लो हप्ता अफ्रिकी देशहरुमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीव्र रुपमा बढेको देखिएको छ । अफ्रिका अहिले एक हजार भन्दा बढी मानिसको कोभिड–१९ बाट ज्यान गइसकेको छ भने १९ हजार भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । अहिलेसम्मलाई संक्रमण दर युरोप र अमेरिकामा भन्दा कम रहेको छ ।
संयुक्त राष्ट्रसंघको अफ्रिकी आर्थिक कमिसनले तीन लाख मानिसको मृत्यु हुने सक्ने चेतावनी दिँदै सम्भावित महामारी नियन्त्रणमा लिनका लागि एक खर्ब अमेरिकी डलर बराबरको बजेट चाहिने उल्लेख गरेको छ ।
यस्तै भाइरसको संक्रमण अफ्रिकाका राजधानी भन्दा बाहिर फैलिने सम्भावना बढ्दै गएको बताएको छ । राजधानी बाहिरका इलाकामा संक्रमण फैलिएमा अवस्था भयावह हुने डब्लुएचओले उल्लेख गरेको छ । अफ्रिकी देशहरुमा भेन्टिलेटरको अभाव रहेकाले पनि चिन्ता थप भएको डब्लुएचओले जनाएको छ ।
अफ्रिकाका एक तिहाई मानिसमा अझै पनि पानीको पर्याप्त पहुँच छैन । यस्तै शहरी क्षेत्रका झण्डै ६० प्रतिशत मानिस घना सुकुम्बासी क्षेत्रमा बस्ने गरेका छन् । यसले गर्दा भाइरसको संक्रमण तीव्र गतिमा फैलिने सम्भावना रहन्छ ।
अफ्रिकामा एक अर्ब ३० करोड मानिसको बसोबास रहेको छ । अहिलेसम्म उत्तरी अफ्रिका सबैभन्दा बढी प्रभावित भएको छ । अल्जेरिया, इजिप्ट र मोरक्कोमा दुई हजार भन्दा बढी संक्रमित रहेका छन् । अफ्रिकाका धेरै देशमा अहिले लकडाउन लागु गरिएको छ ।