बीरगन्ज | पर्सामा स्थानीय प्रशासनले अत्यावश्यक सामाग्रीहरु किनमेलका लागि आफ्नो पूरानो निर्णय सच्याउदैं अब फेरि बिहान ११ देखि ३ बजेसम्मको समय तोकेको छ । दुई दिन अघि मात्र बिहान ७ बजे सम्मको मात्र समय तोकेको प्रशासनले चौतर्फी दबाबपछि निर्णय सच्याएको छ । बिहान जम्मा २ घण्टा मात्र समय दिदाँ बजारमा भीड बढेपछि प्रशासनको यसअघिको निर्णय अव्यवहारिक भएको भन्दै चातर्फी रुपमा आलोचना भएको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्सामा आज बसको कोभिड १९ कमाण्ड पोष्टको बैठकले निर्णय सच्याउदैं अबलाई भने किनमेल गर्न बिहान ११ देखि ३ बजेसम्मको समय दिएको छ । अत्यावश्यक सामाग्रीहरु जस्तै दुध, ग्याँस, खाद्य, किराना लगायतका पसल तोकिएको समयमा सन्चालन हुनेछन् । त्यस्तै, यी पसल बाहेक अन्य कुनै पसल खोल्न नपाइने तर औषधी पसल भने २४ सै घण्टा खुल्ला रहन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए । अत्यावश्यक सामाग्रीका पसल सन्चालन गर्दा साँगुरा गल्ली, ठेलागाडा र चोकमा सन्चालन गर्न नपाइने बस्नेतले बताए ।
पसल सन्चालन गर्दा तीन फिटको दुरी कायम गरी लाइन व्यवस्थापन गरेर बिक्रीवितरण गर्न व्यासायीलाई प्रशासनले निर्देशन दिएको छ । अन्यथा, संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । साथै, किनमेल गर्दा व्यवसायी र ग्राहकले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र किनमेल गर्न जाँदा सवारी साधन प्रयोग गर्न नपाइने सूचनामा उल्लेख छ ।
साथै, खुल्ला स्थानमा तरकारी र फलफुल वितरण बिक्रीवितरण नगर्न तर होम डेलिभरी गर्न चाहे त्यसलाई प्रोत्साहन गरिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
साथै, अत्यावश्यक बस्तु तथा कृषि उत्पादन, मल बीऊ आदि ढुवानी गर्न साँझ ६ बजेपछिको समय तोकिएको छ ।