जोखिम मोलेर काम गर्दैछन् सखुवाप्रसौनीका स्वास्थ्यकर्मी
वीरगंज संजाल
५ बैशाख २०७७, शुक्रबार १६:४९
२५३१
बीरगन्ज | पर्साको सखुवाप्रसौनी गाउँपालिकाका स्वास्थ्यकर्मी जोखिम मोलेर काम गर्न बाध्य भएका छन् । पीपिईको अभावमा गाउँपालिकाका स्वास्थ्यकर्मी ज्यान जोखिममा राखेर स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । पीपिई लगायत अन्य स्वास्थ्य सामाग्रीको अभावमा पनि बिरामीको चेकजाँच गरेर स्वास्थ्य सेवा दिइरहेको गाउँपालिकाको स्वास्थ्य चौकीका इन्चार्ज बृजकिशोर चौधरी बताउँछन् ।
“ज्वरो, रुघा, खोकी लागेका बिरामी आउँछन्” चौधरीले भने “पहिलो भेट हामीसँगै हुन्छ, के थाहा कोही कोरोनाका संक्रमित हुन् कि ?” यस्तो अवस्थामा पनि सुरक्षित नभई सेवा प्रदान गरिएको उनले बताए । “डराई–डराई चेकजाँज गर्छौ अनि झ्यालबाट औषधी दिन्छौं” उनले दुखेसो पोखे । पीपिई लगायतका स्वास्थ्य सामाग्रीका लागि गाउँपालिकामा माग गरिएको उनले बताए । “हुन त, गाउँपालिकाले पीपिई उपलब्ध गराएको छ तर क्वारेन्टाइमा खटिने स्वास्थ्यकर्मीले लगाईरहेका छन्” इन्चार्ज चौधरी भने “हामीलाई अभाव भएको छ ।”
यता, गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश रौनियारले भने स्वास्थ्यकर्मीलाई पीपिई उपलब्ध गराएको दाबी गरे । पहिलो चरणमा १० वटा पीपिई उपलब्ध गराएको रौनियारले बताए । ती सबै पीपिई क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीले प्रयोग गरिरहेका छन् । हाल क्वारेन्टाइनमा ६ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगी कार्यरत छन् । “उनीहरुले क्वारेन्टाइन स्थलमा प्रयोग गरी कार्यालयमा राख्नुपर्नेमा घर लाने गरेका छन्” रौनियारले भने “ त्यसैले गर्दा स्वास्थ्य चौकीमा काम गर्नेलाई अभाव भइरहेको छ ।” यद्यपि, दोस्रो चरणमा पुनः पीपिई वितरण गरिने उनको भनाई छ । “थप पीपिई आइसकको छ, भोलि बैठक बसेर वितरण गर्छौ” रौनियारले थपे ।