प्रदेश २ कोरोना अपडेट : ५ सय ३५ को स्वाब परिक्षण,४ सय ५४ को नेगेटिभ, ४ को पोजेटिभ
वीरगंज संजाल
४ बैशाख २०७७, बिहीबार २१:०३
२०९५
जनकपुरधाम | प्रदेश २ मा बिहीबारसम्म ५ सय ३५ जना कोरोनाभाइरसका शंकास्पद बिरामीहरुको थ्रोट स्वाब परिक्षण गरिएको छ । ती मध्ये ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ भने ४ सय ५४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ७७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
प्रदेशमा कोरोना संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ३ हजार ३ सय ४१ बेड क्षमताको १ सय ६२ वटा क्वारेन्टाइनमा १ हजार १ सय ३७ जना शंकास्पद व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।
प्रदेशभरिमा अहिले १ हजार ५ सय २५ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय २० बेड क्षमताको आईसोलेसनमा १२ जना भर्ना रहेको उनले बताए ।
सचिव घिमिरेका अनुसार रौतहटमा ७ सय ५ बेड क्षमताको १६ वटा क्वारेन्टाइनमा अहिले २ सय १ जना रहेका छन् भने १ सय ७८ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । रौतहटमा ३५ बेड क्षमताको आईसोलेसनमा अहिले कुनै शंकास्पद बिरामी नरहेको बताइएको छ ।
त्यस्तै बारामा ४ सय ४ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले ४९ जनालाई राखिएको छ । बारा जिल्लामा निर्माण गरिएको ४८ वटा आईसोलेसन बेडमा अहिले कुनै शंकास्पद बिरामी नरहेको घिमिरेले जानकारी दिए । बारामा अहिले ६० जना होम क्वारेन्टाइनमा छन् ।
पर्सामा २ सय ९४ बेड क्षमताको १४ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ २ सय २० जना क्वारेन्टाइनमा र १२ जना होम क्वारेन्टाइनमा रहेका छन् । पर्साको बिभिन्न ठाउँमा रहेको ३० बेडको आईसोलेसनमा अहिले ४ जना शंकास्पद बिरामीलाई राखिएको छ ।
सप्तरीमा ५ सय ८७ बेड क्षमताको ३२ वटा क्वारेन्टाइनमा अहिले २ सय ४५ जनालाई निगरानीमा राखिएको छ भने २ सय १४ जना होम क्वारेन्टाइनमा छन् । सप्तरीमा रहेको १३ वटा आईसोलेसन बेडमा अहिले कुनैपनि बिरामी भर्ना नरहेको उनले बताए ।
सिरहामा २ सय ५८ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले १ सय ३५ जना र होम क्वारेन्टाइनमा १ सय ६५ जना रहेका छन् । त्यस जिल्लामा ४१ बेडको आईसोलेसन रहेकोमा त्यहाँ अहिले ७ जना शंकास्पद बिरामीलाई राखिएको छ ।
धनुषामा ३ सय ६२ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले १ सय १६ जनालाई राखिएको उनले जानकारी दिए । यस जिल्लामा १ सय १७ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरमा १२ बेडको आइसोलेशन रहेकोमा त्यहाँ १ जना शंकास्पद बिरामीलाई राखिएको छ ।
त्यस्तै महोत्तरीमा ३ सय ६६ बेड क्षमताको १९ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ अहिले ७ सय ३३ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा ९३ जनालाई राखिएको छ । महोत्तरीमा २६ बेडको आईसोलेसन रहेपनि अहिले ति आईसोलेशनमा कुनै शंकास्पद बिरामी नआएको उनले बताए ।
सर्लाही जिल्लामा ३ सय ६५ बेड क्षमताको ३० वटा क्वारेन्टाइनमा अहिले ७८ जना रहेका छन् भने ५० जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । १५ वटा आईसोलेशन बेड निर्माण गरिएपनि अहिले ति आईसोलेसनमा कुनै शंकास्पद बिरामी नरहेको बताइएको छ ।