प्रदेश २ मा र्यापिड टेस्टलाई तीव्रता, ६५९ को र्यापिड टेस्ट गर्दा २ पोजेटिभ
वीरगंज संजाल
४ बैशाख २०७७, बिहीबार १९:२६
३१७१
बीरगन्ज | प्रदेश नं. २ मा अहिले र्यापिड टेस्टलाई तीव्रता दिइएको सामाजिक विकास विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरले प्रदेश नं. २ का ८ वटै जिल्लामा र्यापिड टेस्टलाई तीव्रता दिइएको बताए ।
कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेको प्रयास र कार्यबारे जानकारी दिन भएको नियमित प्रेस ब्रिफिङ्ग बोल्दै प्रदेश २ मा हालसम्म ६ सय ५९ जनाको र्यापिड टेस्ट गरिएको बताए । जसमध्ये २ जनाको र्यापिड टेस्टको नतिजा पोजेटिभ आएको उनले बताए । र्यापिड टेस्टको नतिजा पोजेटिभ आएका २ जनाको स्वाब संकलन गरी पीसीआर टेस्टका लागि पठाइएको उनले जानकारी दिए ।
त्यस्तै, हालसम्म प्रदेश नं. २ मा ५ सय ३५ जनाको पीसीआर टेस्ट गरिएकोमा ४ जनाको पोजेटिभ र ४५४ जनाको नेगेटिभ नतिजा आएको घिमिरेले बताए । बाँकीको भने रिपोट आउन बाँकी रहेको उनले जानकारी दिए ।
यस्तै, प्रदेश नं. २ का ८ जनालाई कोरोनाको आशंकामा आइसोलेसनमा राखिएको मन्त्रालयले जनाएको छ । सिराहा र जनकपुरस्थित अस्पतालमा क्रमश २ र १ जना तथा महेन्द्र गेनाई अस्पतालमा ५ जनालाई आइसोलेसनामा राखिएको सचिव डा घिमिरेले जानकारी दिए ।
यस्तै, बीरगन्जस्थित नारायणी अस्पताललाई हिजोबाट कोभिड अस्पतालमा परिणत गरिएको उनले जानकारी दिए । केन्द्र सरकारको निर्णय अनुसार नारायणीलाई कोभिड अस्पताल बनाई त्यहाँका बिरामीलाई नेशनल मेडिकल कलेजमा स्थानान्तरण गरिएको उनले जनाए । नेशनललाई सरकारी मापदण्ड र शुल्क अनुसार बिरामीको उपचार गर्न निर्देशन दिइएको प्रदेश नं. २ सरकारले जनाएको छ ।