सामग्री अभावमा वीरगंजमा कोरोना परीक्षण मेशिन सञ्चालनमा ल्याउन समय लाग्ने
वीरगंज संजाल
४ बैशाख २०७७, बिहीबार १४:४९
२१६९
वीरगंज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वैशाख २ गतेबाट वीरगंजमा कोरोना परीक्षण हुने घोषणा गरेपनि अझै एक हप्तासम्म सम्भव नहुने देखिएको छ ।
नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिदै मुख्यमन्त्री राउतले वैशाख २ गते मंगलबारबाट वीरगंजमै कोरोना परीक्षण हुने बताएका थिए ।
विहीबारसम्ममा पनि नारायणी अस्पताल वीरगंजमा कोरोना परीक्षण गर्ने प्रयोगशालाका लागि आवश्यक पर्ने पीसीआर मेसिन जडान भइसकेको छैन ।
प्रदेश–२ सरकारले वीरगञ्जलाई उपलब्ध गराउने भनेको पीसीआर मेसिन भने बुधबार राति आइपुगेकोे अस्पतालका अधिकारीले बताएका छन् ।
तर अन्य उपकरणहरु नहुँदा तत्काल कोरोना संक्रमण परीक्षण गर्न नमिल्ने अधिकारीहरुले बताएका छन् । प्रदेश र संघ सरकारको विशेष सहयोगले वीरगंजमा पीसीआर मेशिन आइपुगेपनि आवश्यक अन्य औजार उपकरणको व्यवस्थापनका लागि पहल भइरहेको अस्पतातालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।
आवश्यक सामग्री बजारमा सहजै नपाइने र पाएपनि महंगो हुने भएकाले तत्कालै मेसिन सञ्चालनमा ल्याउने सम्भावना कम रहेको मेसु उपाध्यायले बताए । उनले समान जुट्यो भने ५ ७ दिनमा सञ्चालनमा ल्याउन सकिने बताए ।