एकैदिन तीन जनामा कोरोना संक्रमण पोजिटिभ भेटिएपछि वीरगञ्जको सुरक्षा अवस्था झन् कडा पारिएको छ । संक्रमणको उच्च जोखिममा रहेका कतिपय क्षेत्रलाई प्रशासनले सिल गरेको छ ।
पुर्ण बन्दाबन्दीको आज २४ औँ दिन । औषधी पसल बाहेकका सबै व्यापार व्यवसाय बन्द छन् । सडकमा सर्वसाधारणहरुको चहलपहल नगण्य छन् । अझ सरल भाषामा, सडकमा प्रहरी तथा अत्यावश्कीय कर्ममा लागेका कर्मचारी बाहेक कोही पनि देखिँदैनन् ।
मुलुकको प्रमुख नाकाहरु मध्ये एक हो वीरगञ्ज । वीरगञ्जलाई मुलुकको लगभग सबै कुनासँग जोड्ने वीरगञ्ज बसपार्क यतिखेर सुनसान छ । कहिले यात्रु र यातायातको चाप थेग्न भ्याईनभ्याई हुने बसपार्क अहिले यस्तो छ मानौँ राहतको स्वाँस फेर्दैछ ।
मालसमान तथा यात्रु ओसारपोसार गर्न २४ औँ घण्टा जागृत हुने राजमार्ग अहिले यसरी सुस्त छ मानौँ मस्त निन्द्रामा विलिन होस् । कहिले गाडीको निरन्तरको ओहोरदोहोर र सर्वसाधारणको भिडभाडका कारण बाटामा हिँड्न समेत मुस्किल भएको सडक जनावरहरु अहिले यसरी बाटो काट्दैछन् मानौ राज त यिनकै छ ।
बुधबार परेको पानीले लकडाउनका कारण आजित बनेका सर्वसाधारणलाई केही राहत महशुस गराएको हुनुपर्छ (लेखकको अपेक्षा मात्र हो यो) । बुधबारको वर्षाका कारण वर्षौदेखि राजमार्ग तथा विभिन्न कुनाकाप्चामा जम्मा भएका धुलोधुँवाहरु सफा भएका छन् । राजमार्ग तथा कुनाकाप्चाका धुलो सरसफाइका लागि वर्षा नै कुर्नु पर्छ भन्नु माथिको वाक्यको तात्पर्य बिल्कुलै होईन ।
लकडाउनका बेला मानिस घरमा छन् । जब लकडाउन सकिन्छ, अनि जब मानिस घर बाहिर आउँछन्, सफा र चिटिक्क परेका सडक हेर्दा मन कति आनन्दित हुँदो हो । आहा, लेखक सोचेरै खुशी हुँदैछन् । महानगर कार्यालयको सरसफाई महाशाखाका लागि माथिका वाक्य बिल्कुलै केन्द्रित छैनन् । तर, आत्मसात गर्दा बिग्रन्छ र केही ? महानगरले आत्मसात नगरेरै होला, ईन्द्रले स्वयम् आज बाटा सफा गर्न लगाईदिए ।
आउनुस् मस्त निन्द्रामा निदाएको महानगरका केही तस्बिर हेरौँ । नेपालपोष्टकर्मी विवेक वर्णवालले कैद गरेका महानगरका केही ठाउँका दृश्यहरु । वर्णवाल, यसका लेखक चाँही पक्कै होईनन्, है ।