वीरगंज । वीरगंजमा कोरोना संक्रमितको पुष्टि भएलगतै स्थानियले जागरुकता देखाएका छन। साथै बाहिरीलाई भने टोलमा छिर्न स्थानिय युवाहरु प्रतिबन्ध लगाएका छ। वीरगंजमा ३ भारतीयमा कोरोना संक्रमण भेटिएपछि नरगबासीमा त्रास छाएको छ । नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ भारतीय मुस्लिम धर्म प्रचारकमा कोरोना संक्रमण भएको पुष्टि आइतबार भएको थियो ।
यो खबर सार्वजनिक भएसँगै त्रासमा परेका नगरबासी अब भने लकडाउको पूर्ण पालनका लागि आफै सक्रिय भएका छन् । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि नै लकडाउन गरिएपनि वीरगन्जमा त्यसलाई अटेर गर्दै स्थानीय सडकमा निस्किने गरेका थिए ।
लकडाउनमा घर बाहिर ननिस्किन प्रहरीले टोल टोलमा गस्ती र माइकिङ गर्दै आएपनि सडकमा पैदल यात्रु, मोटरसाइकल र साइकल चालकको चहल पहल हुने गर्द थिए । तर, आइतबार ३ जना संक्रमीत भेटिएको खबर बाहिर आएसँगै वीरगन्जका सडक र टोल सुनसान भएको छ ।
लकडाउनमा निश्चित समयका लागि खुल्दै आएका तरकारी र किरानाका पसल पनि सोमबारदेखि भने स्थानीय प्रशासनले अर्को सूचना नआएसम्मका लागि बन्द गराइ दिएको छ । संक्रमीत भेटिएको वीरगन्ज वडा नं.१, २ र ३ छपकैयालाई भने स्थानीय प्रशासनले नै आइतबार अपरान्हदेखि नै सुरक्षाकर्मी परिचालन गरेर शील गरिसकेको छ ।
अन्य वडामा भने सोमबारदेखि स्थानीय आफैले वडा प्रवेश गर्ने चोक चोकमा बाँसको बार लगाएर बाहिरका व्याक्तिलाई वडा प्रवेशमा रोक लगाएका हुन् । वीरगंजको भिस्वा, घडीअर्वा, अशोकवाटिका, रानीघाट, छपकैया, राधेमाइ, तेजारथ टोल लगायतका टोल प्रवेश गर्ने चोकमै स्थानीयले बासको बार लगाएर टाल प्रवेशमा प्रतिबन्ध लगाइएको सूचना बोर्डहरु राखिएको छ ।
वीरगन्जमै ३ जना कोरोनाका बिरामी भेटिसके, अब त झन खतरा बढेको छ, वीरगन्ज घडीअर्वाका युवा समाज सेवी अजयकुमार गुप्ताले भने, ‘हामी ३/४ जना मिलेर हाम्रो १० नम्बर वडा प्रवेश गर्ने ७ वटा चोकमा बासको बार लगाएर वडामा बाहिरका मान्छे प्रवेशमा रोक लगाइ सकेका छौं ।
पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले पनि लकडाउनको अरु दिनको तुलनामा आइतबारदेखि वीरगन्जमा सडकमा प्रहरीको गस्ती र निगरानी थप बढाइएको बताइन् । उनले भनिन्, ‘३ जना संक्रमीत भेटिएपछि यहाँका सर्वसाधरणमा आफै जागरुकता बढेको देखिन्छ, कोरोनाबाट बच्ने हो भने लकडाउन पूर्णरुपमा पालना गर्नैपर्छ भन्ने सोच मान्छेमा देखिन थालेको छ, यसलाई सकरात्मक नै भन्नुपर्छ ।‘