श्रीलंकामा कोरोनाभाइरस संक्रमणका कारण मर्नेहरूको अन्त्येष्टि शवदाह गरेर मात्र गर्न पाइने भएको छ । सबै धर्मका मानिसले यसलाई पालन गर्नुपर्ने बताइएपछि अल्पसंख्यक मुसलमानहरूले यसको विरोध गरेका छन् ।
समाचार संस्था एएफपीका अनुसार, श्रीलंकामा कोरोना संक्रमणका कारण सातजनाको मृत्यु भइसकेको छ र तीमध्ये तीनजना मुसलमान थिए । ती मुसलमानका नातेदारले विरोध गर्दागर्दै लाशलाई जलाइएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणबाट भएको मृत्युपछि शवलाई गाड्न वा जलाउन दुवै गर्न मिल्ने जनाएको छ । अहिलेसम्म श्रीलंकामा २०० भन्दा बढी मानिस कोरोना संक्रमित पाइएका छन् । संक्रमण रोक्नका लागि त्यहाँ अनिश्चितकालीन कर्फ्यु लगाइएको छ ।
एम्नेस्टी इन्टरनेसनलका दक्षिण एसिया निर्देशक बिरज पटनायकले अप्रिल महिनाको आरम्भतिर सरकारहरूले सबै समुदायलाई एकताबद्ध गर्नुपर्ने र विभाजन ल्याउन नहुने बताएका थिए ।
श्रीलंकाको दुई करोड १० लाख जनसंख्यामा मुसलमान १० प्रतिशत छन् । मुस्लिम नेताहरूले आफूहरूको धार्मिक संवेदनालाई अपमान गरिएको बताएका छन् ।
मुसलमान र बहुसंख्यक सिंहलीहरूबीच एक वर्षदेखि तनाव चर्केको छ । पोहोर साल ईस्टरमा मुसलमान उग्रवादीहरूले तीन होटल र एक चर्चमा आक्रमण गरेर २७९ जनाको हत्या गरेका थिए ।