विज्ञान–प्रविधिको कब्जामा जाँदै गरेको समाज नै भोलि ‘ह्याकिङ’ भयो भने ?
वीरगंज संजाल
२ बैशाख २०७७, मंगलवार ०६:३७
५७५१
बिसौं शताब्दी सकिएर विश्व एक्काइसौं शताब्दीमा प्रवेश गर्नै लाग्दा विचारक, चिन्तक, अन्वेषक र आविस्कारकहरू आउने शताब्दी कसरी अघिल्लोभन्दा राम्रो बनाउने भनेर आ–आफ्नै कार्यमा व्यस्त थिए । अघिल्लाभन्दा पछिल्ला दिनहरू उपलब्धिमूलक बनाउन लागिपर्नु मानवीय स्वभाव र विकासको नियम पनि हो ।
तेस्रो औद्योगिक क्रान्तिले सघाइरहेको थियो नयाँ–नयाँ उपलब्धिलाई, शितयुद्धको अन्त भई लोकतान्त्रिक उदारवादले लगभग विश्वलाई राज गरिरहेको थियो । मुलुकहरूबीचको प्रतिस्पर्धा विकास र समृद्धितर्फ थियो, प्रतिस्पर्धा साथसाथै सहकार्यले गरीबी, असमानता, आतंकवाद, महामारी र विपत्तिलाई न्यून गर्ने एजेण्डा थियो । सर्वसाधाण शताब्दीका स्वादहरू कस्ता हुने हुन् भन्नेमा उत्साहसाथ कौतुहल राख्दै थिए । विचारक एवं अनुसन्धानकर्ता उपलब्धि र आविस्कारका अनुमान गरिरहेका थिए । ती अनुमान अस्वाभाविक र असम्भव प्रकृतिका त छँदै थिए, कतिपय त श्वेरकल्पना जस्तै । ती अनुमान अपेक्षा र लालसा थिए । त्यसैले स्वाभाविकभन्दा श्वेरकल्पना नजिक रहनु स्वाभाविक थिए । भविष्य यस्तो हुनेछ भनेर भविष्यवाणी गर्न नसकिएपनि कल्पना गर्नु मानिसको अधिकार र स्वभाव दुवै हो ।
अहिले अघिल्लो शताब्दीमा कल्पना मात्र गरिने अन्तरिक्ष यात्रा पनि सहज रुपमा सम्भव भइसकेको छ । जैविक प्रविधि, क्लोनिङ, टेस्ट ट्यूब बच्चाको जन्मले प्रकृतिमाथि नै मानव प्रयत्नले चुनौती दिइसक्यो । गोलाद्र्धका एक कुनाका मानिस क्षणभरमा नै अर्को कुनामा रहेको आफन्तसँग हत्केलामा स्पर्श गरिरहेका छन् । ठूल्ठूला वार्ता र संवादका लागि हजारौं माइलको हवाई यात्रा तय गर्नुपर्दैन, भिडियो कन्फरेन्सले आफ्नै कार्यकक्षबाट सम्भव तुल्याइदियो ।
विचार र समाचार प्रवाहको मार्ग अनवरत खुला छ । आइफोन हराउँदा आइप्याडले लोकेसन ट्र्याक गर्न र कतिपय महत्त्वपूर्ण सूचना संरक्षण गर्न सकिने अन्तरसम्बन्ध स्थापित छ । यन्त्र–यन्त्रको सम्बन्धले एकले अर्कोको क्षतिलाई कसरी बचाउँछ भन्ने सानो उदाहरण मात्र हो यो । यस्ता कैयन उदाहरण छन् जसले कल्पनाका कुरालाई क्रमशः यथार्थमा साकार तुल्याँउदै ल्याएको छ । मानौं अब प्रविधिले संवेदना पाइसक्यो । प्रविधिले नै ठूलो र जटिल विश्वलाई सानो र सरल बनायो, विश्वलाई सानो सीमाभित्र खुम्च्याएर आफू अनुकूल उपयोग गर्न सम्भव तुल्यायो ।