लकडाउन उलंघन गरेको भन्दै प्रहरीको लाठीचार्जबाट ६५ वर्षीया वृद्धाको मृत्यु,
वीरगंज संजाल
१ बैशाख २०७७, सोमबार १५:४६
३५०९
जनकपुर । सप्तरी जिल्लाको खडक नगरपालिका ६, विरपुरमा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले लाठीचार्ज गरेपछि एक वृद्धाको मृत्यु भएको छ । घटनामा स्थानीय ६५ वर्षीया जैनव कुजर्नी (खातुन) को मृत्यु भएाको हो ।
सोमबार बिहान करिब ११ बजेको समयमा इलाका प्रहरी कार्यालय कल्याणपुरको प्रहरी टोलीले विरपुर चोकमा बसिरहेका युवाहरुमाथि लाठीचार्ज गर्दा घटना भएको वडा अध्यक्ष भगवती चौधरीले बाह्रखरीलाई जानकारी दिए ।
“विरपुर चोकमा जमघट बढेको भन्ने खबर पाएर त्यहाँ पुगेको प्रहरीले चोकमा बसिरहेका युवाहरुमाथि लाठीचार्ज गरेको स्वयं इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्चार्ज इन्सपेक्टर धर्मराज मुडभरीले स्वीकारेका छन्” खडक नगरपालिका ६ नम्बरका वडा अध्यक्ष चौधरीले भने, “प्रहरीले आफ्नो छोरामाथि लाठी प्रहार गरिरहेको देखेर चिच्याउँदै दौडेकी एक वृद्धालाई पनि प्रहरीले दुई लाठी हानेपछि तत्काल बेहोस् भएको र उपचारको क्रममा मृत्यु भएको प्रत्यक्षदर्शीहरुले भनिरहेका छन् ।”
घटनापछि विरपुर चोकबाटै वडा अध्यक्ष चौधरीलाई इन्सपेक्टर मुडभरीले फोनगरी बोलाएका थिए । आफु त्यहाँ पुग्दा जैनवलाई प्रहरीले लाठीले हानेपछि बेहोस् भएको र उपचारको लागि तत्कालै नगरप्रमुख हेमायु हकले आफ्नै गाडीमा चढाएर कल्याणपुर अस्पताल लगेको थाहा पाएपछि आफु पनि त्यहाँ पुगेको वडा अध्यक्ष चौधरीले जानकारी दिए ।
उनका अनुसार कल्याणपुर अस्पतालमा उनको उपचार सम्भव नभएपछि एम्बुलेन्समा राखेर राजविराज अस्पतालमा लगेको र त्यहाँ पुग्ने बित्तिकै डाक्टरले मृत घोषणा गरेको चौधरीले जनाए ।
इन्सपेक्टर मुडभरीले भने वृद्धालाई कसैले लाठी नहानेको जिकिर गरिरहेका छन् । लकडाउनको वास्तानगरी चोकमा भिड लगाउने र सम्झाउँदा पनि अटेर गरेपछि केही युवालाई एकदुई लाठी हानेपनि महिलामाथि कसैले लाठी प्रहार नगरेको उनको भनाई हो ।
वडा अध्यक्ष चौधरीले घरै अगाडि छोरा उपर प्रहरीले लाठीचार्ज गर्न थालेको देखेर चिच्याउँदै दौड्दै आएकी ती महिलालाई पनि प्रहरीले दुई लाठी हानेको स्थानीयलाई हावाला दिँदै जनाए ।
जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँले पनि मृतक महिलामाथि प्रहरीले लाठी प्रहार नगरेको जिकिर गरेका छन् । “चोकमा भिड लगाइरहेका युवाहरुलाई धपाउन त्यहाँ खटेको प्रहरीले लाठी हानेपनि वृद्धा महिलालाई हानेको आरोप गलत हो” प्रसाइँले भने । हृदयरोगको बिरामी रहेकी ती वृद्धाको कालगतिले नै मृत्यु भएको एसपी प्रसाइँको दावी हो ।
अहिले मृत शवलाई राजविराज अस्पतालमा राखिएको छ । स्थानीयले शवको पोष्टमार्टमगरी दोषी प्रहरीमाथि कारवाही र मृतक परिवारलाई क्षतिपुर्ति दिनुपर्ने माग गरिरहेका छन् । प्रहरीले भने पोष्टमार्टम नगरीकनै सम्बन्धित परिवारलाई शव जिम्मा लगाउने प्रयासमा प्रहरी रहेको स्थानीयको आरोप छ ।