काठमाडौँ | नेपालमा २ हजार ५ सय मिटर उचाइमा पाटे बाघ भेटिएको छ । डडेलधुराको महाभारत वन क्षेत्रमा पहिलो पटक त्यति उचाइमा बाटेबाघको तस्बिर स्वचालित क्यामेरामा कैद भएको डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
डडेलधुराको महाभारत वन क्षेत्रमा पहिलो पटक क्याप्चर भएको पाटे बाघ तस्बिरः डिभिजन वन कार्यालय डडेलधुरा
भुटानमा ४२ सय र भारतको उत्तराखण्डस्थित धार्चुलामा २९ सय मिटर उचाइमा भेटिएका बाघ नेपालमा पनि ८ सय मिटर उचाइसम्म पाइएका थियो। क्यामेरामा कैद भएको बाघ रैथाने वा अन्यत्रबाट आहारको खोजीमा आएको हो भन्नेबारे विस्तृत अध्ययन हुन बाँकी छ।
तराई भू–परिधि कार्यक्रम, विश्व वन्यजन्तु कोषको आर्थिक तथा प्राविधिक सहयोगमा डिभिजन वन कार्यालयले संयुक्त रुपमा मार्च ६ देखि अप्रिल ६ सम्म महाभारत वन क्षेत्रमा बाघ भएनभएको अध्ययन गर्न ३२ जोडी स्वचालित क्यामेरा जडान गरेको थियो।
तिनैमध्ये महाभारत वन क्षेत्रको महाकाली नदीको पूर्वी भाग र डडेलधुरा बजारको पश्चिम भागको एक एक स्थानमा पाटेबाघको तस्बिर ट्ऱ्याप भएको आचार्यले कान्तिपुरलाई बताए। क्यामेरामा पाटेबाघसँगै रेड फक्स, चितुवा, घोरल, लार्च इन्डियन सिभेट, लियोपार्ड क्याट, दुम्सी, मृग प्रजाति र चरासमेत कैद भएका छन्।
पहाडी क्षेत्रका विभिन्न भेगमा राम्रो बासस्थान, आहार प्रजातिको उपलब्धता र कोलाहल कम हुन थालेपछि पाटे बाघ उचाइतिर जान थालेको विज्ञहरुको विश्लेषण छ।
उनीहरुका अनुसार जलवायु परिवर्तनका कारण आहारमा आएको फेरबदलले बाघका आहार मृग प्रजाति र बंदेल उच्च भागतिर सर्दै गएकाले बाघ पनि माथि माथि उक्लन थालेको हो।
सर्वेक्षणअनुसार नेपाल र भारतमा धेरैजसो बाघ तल्लो तटीय क्षेत्रको एक सयदेखि दुई सय मिटर उचाइमा छन्। पछिल्लो अध्ययनअनुसार नेपालमा २ सय ३५ बाघ छन्। भारतमा २ हजार ९ सय ६७ बाघ देखाएको छ। दुई वर्षअघिको सर्वेक्षणमा नेपालका १२ जिल्ला बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, दाङ, बांके, सल्यान, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुरमा बाघ भेटिएका थिए। डडेलधुरामा तस्बिर कैद भएपछि उक्त क्षेत्रमा पनि पाटेबाघ हुन सक्ने पुष्टि भएको छ।
डब्लूडब्लूएफ नेपालका बाघविज्ञ कञ्चन थापाका अनुसार राम्रो बासस्थान, आहार प्रजातिको उपलब्धता र कोलाहल नहुने हो भने नेपालमा पनि तल्लो क्षेत्रमा रहेका बाघ उच्च भागसम्मै जान सक्छन्।
दुई महिनाअघि भारतको तेलांगना राज्यको आदिलाबादमा रहेको टिपेश्वर वनको एउटा बाघ पोथी (प्रेमिका) को खोजीमा दुई हजार किलोमिटर यात्रा गरेर महाराष्ट्र राज्यको ज्ञानगंगा जंगलसम्म पुगेको तथ्य सार्वजनिक भएको छ। उक्त बाघ नहर, खेत, जंगल र सडक हुँदै त्यो दूरी पार गरेको स्याटेलाइट रेडियो कलरको संकेतबाट थाहा भएको छ। यसबाट बाघले धेरै यात्रा गर्न सक्ने पुष्टि भएको छ।
विश्वका १३ देशमा बाघ पाइन्छन्। सन् २०२२ सम्म पाटेबाघको संख्या विश्वमै दोब्बर पार्ने सन् २०१० को घोषणाअनुसार अहिले सबै देश बाघको बढोत्तरीमा केन्द्रित छन्।