बीरगन्जमा ३ जनाको कोरोना रिपोर्ट पोजेटिभ वा नेगेटिभ ? किन भ्रम ?
वीरगंज संजाल
३० चैत्र २०७६, आईतवार १०:१७
५१२१
बीरगन्ज | बीरगन्जबाट स्याब परिक्षणका लागि पठाइएका तीन जनामा कोरोना पोजेटिभ भएको बीरगन्ज बाहिरका मिडियाले लेखेका छन् । शुक्रबार हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीनजनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने खुट्याउन नसकेपछि थप स्पष्ट गर्नका लागि ती नमुनालाई काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
काठमान्डौको केन्द्रिय ल्याबमा पठाइएकोमा त्यहाँ पुन परीक्षण गर्दा ३ नै जनालाई कोरोना भएको पुष्टि भएको ती मिडियाले लेखेका छन् । यद्यपि, यसको आधिकारीक पुष्टि भने नेपाल सरकारले नगरेको केहीबेरमा आधिकारीक रुपमा आउने तयारी गरेको एकजना अधिकारीले बताएको समाचारमा उल्लेख गरिएको छ ।
यता, नारायणी अस्पातालका मेडिकल सुपरिटेन्डेन्ट, पर्साका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक लगायतका कसैले पनि यसबारे बोलेका छैनन् । यसबारे बारम्बार आधिकारिक पुष्टिका लागि बुझ्न खोज्दा कसैले फोन काट्ने, कसैले नउठाउने र कसैले मोबाइल स्वीच अफ गरिएको पाइएको छ ।
यसबीच, शुक्रबारदेखि कोरोना पोजेटिभ देखिएको हल्ला सामाजिक सन्जाल मार्फत चलेपछि बीरगन्जमा त्रास छाएको छ । स्थानीय प्रशासन केही नबोल्नु तर एकाएक नारायणी अस्पतालको ओपिडी बन्द गरिनु, त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि भन्दै बीरगन्जका मेयरले फेसबुक मार्फत होटल र घर आइसोलेसनका लागि खोज्नु र अस्पतालका मेसु डा मदन उपाध्यायले आइसोलेसनमा राखिएका ३ जना कोरोना पोजेटिभ हुन सक्ने भन्दै थप सर्तकर्ता अपनाइएको भन्दै मिडियामा भन्नुले ती तीन जनाको रिर्पोट पोजेटिभ नै आएको अडकल बीरगन्जमा गरिएको छ ।
अहिले बीरगन्जमा शंकास्पद स्थान र नारायणी अस्पताललाई नै सिल गर्नुपर्ने कुरा उठेको छ । फेसबुकमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लेख्नुहुन्छ “ सरकार अब सुचना नलुकाउ, नारायणी अस्पतालको आइसोलेसनमा रहेका ३ जना भारतिय नागरिकलाई कोरोना पोजिटिभ पुष्टि, अब उनिहरुको उपचारमा खटिएका डाक्टर , अस्पताल कर्मचारी, स्वस्थ्य कर्मिलाई स्थानीय सरकारले सुरक्षित ब्यवस्थापन गर्न जरुरी बरु होटेलमा राखेर खान बस्न र उपचारमा प्रोत्साहित गर्न बिलम्ब नगरौ । संकास्पद स्थान शिल गरि क्वारेन्टाइनमा राखौं ।