प्रधानमन्त्रीले मुख्यमन्त्रीसँग चार घण्टाबढी के कुरा गरे ?
वीरगंज संजाल
२९ चैत्र २०७६, शनिबार १९:३१
२८५९
काठमाडौं | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण र रोकथामका विषयमा प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित एक्सन रुमबाट शनिबार प्रधानमन्त्री ओलीले चार घण्टाभन्दा लामो समय मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्समा छलफल गरेका हुन्।
प्रधानमन्त्रीसँगको भिडियो कन्फरेन्समा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी थिए।
शनिबार बिहान ११ : ३० मा सुरु भएको मुख्यमन्त्रीसँगको भिडियो कन्फरेन्स छलफल दिउँसो ३:४० मा सकिएको थियो। छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीले प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयाशको बारेमा जानकारी गराए।
प्रधानमन्त्रीले यसबीचका प्रयास सकारात्मक रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
छलफलमा प्रधानमन्त्री ओलीले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट पारे। ‘सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वबाट प्रभावित नहुन आम नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अनुरोध गर्नुभयो’, थापाले भने।
प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने बताएका छन्।