बारा | कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले चार वर्ष पुरानो दाल बेचेको पाएपछि स्थानीय प्रशासनले अनुगमन गरी गोदाममा शिलबन्दी गरेको हो ।
कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाममा शनिबार शिलबन्दी गरेको छ । कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा रहेको यो गोदाम कलैया उपमहानगरपालिकाका मेयर उनका छोरा राजेश राय यादवले सञ्चालन गर्दै आएका छन् ।
चार वर्षदेखि गोदाममा थन्किएको राहतमा खपाउन मेयर रायले नजिकका वडाध्यक्षलाई उधारोमा बिक्री गरी बाँड्न लगाएको खुलेको छ । राहत पाएका यस विषयमा गुनासो गरेपछि अनुगमन गर्दै गोदाम शिलबन्दी गरेको हो । त्यस्तै, गोदामबाट प्रहरीले ३ सय ८० बोरा (९ हजार ५ सय केजी) रहरको दाल बरामद गरेको छ ।
स्थानीय प्रशासनले जाँचका लागि त्यसबाट नमुना संकलन गरेको छ । बरामद दाल प्रहरीको नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले बताए । परीक्षणबाट अखाद्य प्रमाणित भएपछि खाद्य ऐनअनुसार कारबाही गरिने उनले बताए ।