पर्साको यस्तो छ स्थिति : ७८ जना क्वारेन्टाइनमा, १२४९ लाई राहत वितरण, २८० सवारी नियन्त्रणमा
वीरगंज संजाल
२८ चैत्र २०७६, शुक्रबार १७:११
३६२१
बीरगन्ज | पर्सामा हाल ७८ जना व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले पर्साले जनाएको छ । बीरगन्ज महानगरपालिकासहित पर्साका १४ वटै स्थानीय तहहरुमा स्थापित क्वारेन्टाइनमा विदेशबाट आएका र शंकास्पद किसिमका ती व्यक्तिहरु क्वारेन्टाइनमा रहेको जनाइएको छ ।
कोरोना रोकथामका लागि हालसम्म भए गरेका कार्यहरुको विवरण शुक्रबार सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले १ सय ४१ जनालाई भने घर फिर्ता पठाइएको जनाएको छ । त्यस्तै, सार्वजनिक भएको विवरण अनुसार चैत महिनाको शुरु यता भारत लगायतका अन्य देशबाट ३ सय ३९ जना पर्सा जिल्ला भित्रिएका छन् । यसअघि, जिल्ला प्रशासनले सबै स्थानीय तहलाई वडागत रुपमा भारत लगायतका अन्य देशबाट आएका व्यक्तिहरको विवरण संकलन गर्न भनेको थियो ।
यस्तै, बीरगन्जस्थित नारायणी अस्पतालमा बेड विस्तार गरी २५ बेडको आइसोलेसन वार्ड बनाइएको जनाइएको छ । यस्तै, नेशनल मेडिकल र बयोधा अस्पतालले पनि आइसोलेसन वार्ड सन्चालन गर्ने प्रतिबद्धता जनाए पनि सुरक्षा उपकरण र सामाग्री नभएको भन्दै सन्चालन नगरेको सो विवरणमा जनाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले २ सय ५० थान पीपीई लगायतका स्वास्थ्य सामाग्री खरिद गरेको र कोरोनाका शंकास्पद बिरामी बोक्नका लागि नारायणी र आशाराम अस्पतालका गरी २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।
त्यसैगरी, पर्सा जिल्लामा विवरण तयार पार्दासम्म विभिन्न स्थानीय तहका १२ सय ४९ जना प्रभावितहरुलाई राहत वितरण गरिएको बस्नेतले जानकारी दिए । यस्तै, लकडाउनलाई थप कडा बनाउन सशस्त्र प्रहरीका थप ५०० जनशक्ति विभिन्न नाका र स्थानीय तहमा खटाइएको जनाएको छ । हालसम्म लकडाउन उल्लङ्घन गर्ने १५ सय जना व्यक्तिहरुलाई सम्झाई बुझाई छोडिएको र नियन्णमा लिइएका १ हजार ३६ सवारी जरिवाना पश्चात छोडिएको छ । त्यस्तै, अहिले पनि २८० सवारी साधन नियन्त्रणमा रहेको विवरण सार्वजनिक भएको छ । यस्तै, खाद्य सामाग्री विक्री वितरणका लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्म अनुमति दिइएको सप्रजिअ बस्नेतले जानकारी दिए ।