कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ५० हजार स्वयंसेवक परिचालन गर्ने
वीरगंज संजाल
२३ चैत्र २०७६, आईतवार २०:३२
३१३७
काठमाडौं । सरकारले कोरोनाविरुद्धको अभियानमा स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ। देशभर ५० हजार भन्दा बढी स्वास्थ्य स्वयंसेविका रहेको र स्थानीयस्तरमा नै उनीहरूको पहुँच हुने भएकाले परिचालन गर्ने निर्णय भएको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जानकारी दिएको हो।
समितिको आइतबार संहदरबारमा बसेको बैठकले कोरोना नियन्त्रणमा देशभरका स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो। यसरी खटिने स्वयंसेविकाको पारिश्रमिक र बीमाको व्यवस्था हुने प्रधानमन्त्री कार्यालयका सचिव तथा समितिका सदस्यसचिव नारायण बिडारीले बताए।
बैठकले विपद् र माहामारीको समय भएकाले औषधि, उपकरणको खरिद सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार जिटुजीबाट विदेशी सरकारबाट किन्न सक्ने र कानुनमा तोकिएकै प्रावधानअनुसार प्रतिस्पर्धात्मक बाटोबाट निजी क्षेत्रबाट खरिद गर्न सक्ने गरी दुवै विकल्प अवलम्बन गर्ने निर्णयसमेत गरेको छ।
समन्वय समितिको बैठकले १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको पनि स्वाब परिक्षण गर्ने र कोरोनाको कुनै संकेत नदेखिएमा मात्र घर पठाउने निर्णय गरेको छ ।