सीमापारि क्वारेन्टाइनमा बस्नेको गुनासो : ‘प्यास मेटिने गरी पानी पनि खान पाएका छैनौं’
वीरगंज संजाल
२३ चैत्र २०७६, आईतवार १७:३२
३२६५
बैतडी | झुलाघाट नाकाको पुल खुल्ने हल्ला सुनेर भारतको अल्मोडाबाट उनी दुई दिन पैदल हिँडेर त्यहाँ पुगे । चैत १८ मा पुगेका बैतडीको पुरचौडी नगरपालिका–८, मल्लादेहीका दीपकसिंह धामीले दुई दिनसम्म झुलाघाट बजार र पुल आसपास खुला आकाशमुनि दिनरात कटाए । तीन दिनअघि मात्रै उनीहरुलाई भारतको पिथौरागढ जिल्ला प्रशासनले सार्वजनिक ठाउँ, वन विभागको कार्यालय र विद्यालयमा क्वारेन्टाइनमा राखेको छ ।
‘सुरक्षित राख्छौं भनेर सबैलाई राखेको हो । तर, हामीले तिर्खा मेटिने गरी पानीसम्म खान पाएका छैनौं । ३० जनाभन्दा धेरैलाई एकै ठाउमा राखिएको छ,’ उनले फोनमा भने, ‘चामल र दालमात्र दिएको छ । आफैं पकाएर खानुपर्छ तर पानी, दाउरा केही पनि छैन । नजिक धारा छुन र बारीमा दाउरा लिन जान पनि पाउँदैनौं । रोग लिएर आएका छौ भनेर गाली गर्छन् ।’
झुलाघाट नाकामा दीपकजस्तै झन्डै साढे तीन सय नेपाली अलपत्र छन् । जसमा महिला र बालबालिकासमेत छन् । बीच बाटोमा पनि धेरै नेपाली बसिरहेको दीपक बताउँछन् । लकडाउनपछि यस क्षेत्रका धेरै जना कैलाली र कञ्चनपुरका सिमानाका भएर नेपाल भित्रिए । भारत गएका कतिपय भने घर पायक पर्ने भन्दै झुलाघाट नाकामा जम्मा भएका थिए । ‘नयाँ वर्षको चाड बिसुसम्म फर्कने भनेर काम गर्न भारत गएको थिएँ,’ दीपकले भने, ‘घरनजिकै पुगेर अलपत्र परियो ।’ उनी दुई महिना अघिमात्रै रोजगारीका लागि अल्मोडा गएका थिए ।
सीमापारि नै क्वारेन्टाइनमा राखिएका पुर्चौडी नगरपालिका–८ का वीरेन्द्र पाठकले ६ वटा थालमा ३० जनाले पालो कुरेर भात खाने गरेको सुनाए । ‘सरकारमा बसेकाहरुले हामी पनि नेपाली हौं भन्ने किन बिर्सिए ?,’ उनले आक्रोश पोखे, ‘हामी भोट हालेर आएका थियौं । तर, अहिले यो अवस्था आएको छ । आजसम्म नेपालका कसैले पनि खोजखबर गरेको छैन । सांसद, मन्त्रीलाई फोन गरे पनि सबै उठाउँदैनन् । उठाएकाले माथि कुरा भइरहेको छ मात्र भन्छन् ।’
भात पकाउन एउटा मात्र भाँडो दिइएको र आलोपालो गरी पकाएर खाने गरेको उनले दुखेसो पोखे । पेट भर्न नभई ज्यान जोगाउनलाई मात्र दाल, चामल दिएको भारतीयहरुले भन्दै आएको उनले सुनाए । ‘काम गर्ने अफिस बन्द हुँदा खर्च पनि ल्याउन पाइएन,’ दीपकले भने, ‘अहिले आफ्नैले हामीलाई देश छिर्न दिएका छैनन् । यताकाहरुले केही गरेनन् भनेर कति भन्नु ? हाम्रो त यहाँ बिजोग छ । ओड्ने, ओछ्याउने कपडा पनि छैन । उताबाट ल्याएका तन्ना, सिरकका खोलहरु बिछ्याएर भुइँमा रात बिताइरहेका छौं । कसैसँग यति पनि छैन ।’
कोरोनाभन्दा आफूहरु खान नपाएर र भीडमा बस्दा अरुनै रोग लाग्ने खतरा बढेको उनीहरुले चिन्ता जनाए । ‘हामी कसैलाई पनि नछोएर १४ दिन होइन २६ महिना क्वारेन्टाइमा बस्ने थियौं, नेपाल मात्र जान पाएको भए । यताको अपहेलना र दु:ख सहनुभन्दा भोकै भए पनि आफ्नै घरमा मर्ने रहर छ,’ दीपकले याचना गरे ।
यहाँ रोकिएकामध्ये अधिकांश नेपाली बझाङ र बैतडीको पुर्चाैडी नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार, सिगास गाउँपालिकालगायतका रहेका पुर्चाैडीका रामबहादुर धामीले बताए । उनका अनुसार दार्चुलापारि रोकिएका नेपाली महाकाली तरेर गएको खबर सुन्दा झुलाघाटका नेपालीले पनि त्यस्तै योजना बनाएका थिए । तर, धेरैजसो पौडिन नसक्ने हुँदा त्यसो गर्न नसकेको उनको भनाइ छ ।
बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकन्द्रसिंह नेगीले माथिल्लो निकायबाट आदेश नआएकाले आफूहरुले केही गर्न नसकेको बताए । ‘सरकारले गर् भनेपछि हामी तयार छौं । केही समयअघि पहिले रोकिएकालाई ल्याएका पनि थियौं,’ नेगीले भने । उनका अनुसार २ सय २७ जना सीमापारि रोकिएका छन् ।