नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारी विरुद्ध भारत अमेरिकासँग मिलेर काम गरिरहेको बताए ।
‘अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग विस्तृत टेलिफोन कुराकानी भयो । हाम्रो छलफल भयो । र कोरोना विरुद्ध लड्न भारत र अमेरिकाले संयुक्त रुपमा सम्पूर्ण शक्ति परिचालन गर्ने सहमति भएको छ,’ मोदीले उल्लेख गरेका छन् ।
भारत सरकारले कोरोना भाइरसको रोकथामका लागि लकडाउन लगाइसकेको छ । हालसम्म भारतमा ३ हजार संक्रमित पुग्नुका साथै मृत्यु हुनेको संख्या ६८ पुगेको छ । विश्व भर संक्रमितको संख्या बढ्ने क्रम जारी छ । अमेरिकामा भने ७ हजार भन्दा धेरैको मृत्यु हुनुका साथै झण्डै ३ लाख संक्रमित भएका छन् ।
विश्वभर संक्रमितको संख्याको एक चौथाइ अमेरिकामै छ । अमेरिकामा अनपेक्षित रुपमा संक्रमण फैलँदै गरेकोमा ट्रम्पले पनि चिन्ता व्यक्त गरेका थिए । अप्रिलको दोस्रो सातासम्म पीडादायी हुने उनको भनाइ थियो ।
साथै उनले अमेरिकामा मृतकको संख्या १ लाख पुग्दा नै रोक्न सक्दा त्यो आफूहरुको सफलता हुने पनि बताएका थिए । यता भारतमा पनि हरेक दिन संक्रमितको संख्या बढ्दो क्रममा छ । यसै सन्दर्भमा भारतीय प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्ता भएको हो ।
कोरोना महामारीबाट उत्पन्न अवस्थाबारे छलफल गर्न मोदीले टेलिफोन गरेका थिए । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना महामारीको अवस्थाबारे छलफल गर्न चिनियाँ राष्ट्रपति सी जिनफिङलाई टेलिफोन गरेका थिए । महामारीसँगै विश्व अर्थतन्त्र धर्मराइरहँदा त्यसको असरले बलियो अर्थतन्त्र भएका देशलाई पनि चिन्तित बनाएको छ ।