कोरोना संक्रमित युवा: चैत ११ गते गौरिफन्टा नाकामा हजार जनाको भीडमा थिए !
वीरगंज संजाल
२२ चैत्र २०७६, शनिबार १९:४७
२०५३
काठमाडौं | कैलाली लम्कीका चुहा नगरपालिका–९ प्रतापपुर निवासी २१ वर्षीय कोरोना संक्रमित युवा बन्दाबन्दी (लकडाउन) को समयमा नेपाल प्रवेश गरेको खुलेको छ । रोजगारका लागि भारत पुगेका उनी लकडाउन भएपछि ११ गते नेपाल फर्किएका थिए ।
उनी गौरिफन्टा नाका हुँदै आएका थिए । सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि उनीसहित भारतबाट आएका सयौं गौरिफन्टा नाकामा रोकिएका थिए ।
प्रहरीले स्वदेश छिर्न नदिएपछि उनीहरुले नेपाल प्रवेश गर्न पाउनु पर्ने माग गर्दै गौरीफन्टामा नाराबाजी समेत गरेका थिए । पछि उनीहरुलाई चैत १२ गते नेपाल प्रवेश गर्न दिएका थिए ।
त्यो दिन गौरिफन्टा नाकाबाट करिब एक हजार व्यक्ति नेपाल भित्रिएका थिए । कोरोना संक्रमित युवक सोही भिडसँगै नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ ।
गौरीफन्टा नाकाबाट गाडीको व्यवस्था गरी विभिन्न ठाउँ पठाएका यात्रुहरुमा उनी पनि रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदिप गिरीले जानकारी दिए ।
उनी नेपाल प्रवेश गरेको दिन आफ्नो घरमा नगएर भाउजुको घरमा बेलुकीको खाना खाना गएको बताइएको छ । अर्को दिन बिहान उनलाई लम्कीचुहा नगरपालिका ९ मा रहेको सरस्वती माध्यमिक विद्यालय, प्रतापपुरमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको थियो ।