राजविराज | कोरोना भाइरस (कोभिड–१९) को आशंकामा कतार एयरवेजबाट नेपाल फर्किएका सप्तरीका एक जनासहित नौ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कतार एयरवेजको क्युआर ६५२ बाट नेपाल फर्किएका तिलाठी कोइलाडी गाउँपालिकाका जितेन्द्र मण्डलसहित भारतको तब्लिगी जमातबाट फर्किएका भनिएका आठ जनाको रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले जानकारी दिएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमन लाल दासले सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाबको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको बताए।
सप्तरीबाट पहिलो पटक बिहीबार नौ जनाको स्वाब परीक्षणका लागि धरान पठाइएको थियो । मण्डल कतार एयरवेजको क्युआर ६५२ विमानबाट चैत ४ गते नेपाल फर्किएका थिए । उनी तिलाठी कोइलाडीस्थित लबन मावि स्थित क्वारेन्टाइनमा बसेका छन् ।
यसैगरी इस्लाम धर्म प्रचारको संस्था तब्लिगी जमातको आह्वानमा भारत बिहारको अररिया फारबिसगञ्ज र रहुवाइको विभिन्न मस्जिदमा भएको ४० दिने जमातमा सहभागी भई घर फर्किएका राजविराज नगरपालिकाका आठ जना गत मङ्गलबार घर फर्किएका थिए । उनीहरु सबैलाई राजविराज नगरपालिका–४ स्थित इस्लाम मियाँको घरमा क्वारेन्टाइनमा राखिएको छ ।
वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार गरिएको १२ जनाकै स्वाब नमुनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । सप्तरीबाट पठाइएको नौसहित ओखलढुंगाबाट पठाईको दुई र भोजपुरबाट पठाइएको एक जनाको स्वाब नेगेटिभ रहेको प्रतिष्ठानले जनाएको छ ।