कैलाली र कञ्चनपुरका कोरोना सङ्क्रमितको अवस्था सामान्य
वीरगंज संजाल
२२ चैत्र २०७६, शनिबार १६:१२
२७६७
कैलाली | कैलाली र कञ्चनपुरमा भेटिएका तीनजना कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ । नयाँ भेटिएका तीनैजना सङ्क्रमितको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका डा जगदीश जोशीले जानकारी दिए।
शनिबार एकै दिन तीनजनामा कोरोना भाइरस पोजेटिभ देखिएको जनाइएको छ । धनगढीका पहिलो सङ्क्रमित ३४ वर्षीय युवककी भाउजू, भारतको मुम्बैबाट फर्किएका २१ वर्षीय पुरुष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भेटिएको हो ।
चौँतीस वर्षीया युवतीबाहेक अन्य दुईजनाको नमूना क्वारेन्टाइनबाट सङ्कलन गरिएको र युवतीको नमूना सेती अस्पतालबाट सङ्कलन गरिएको डा जोशीले बताए । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या चार पुगेको छ ।