लन्डन । विश्वमा कोरोनाभाइरसको महामारी बढ्दै गर्दा विश्वका हार्डवेयर विज्ञहरु तथा उत्साही व्यक्ति तथा समूहहरु भने मानवताप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्ने भूमिकामा जुट्न थालेका छन् ।
ल्याटिन अमेरिकी मुलुक चिलीका मार्टिन सेरे भन्छन्, ‘मैले स्पेनको बार्सिलोनामा रहेका एक साथीको इन्स्टाग्राम पोस्ट हेरेँ, मलाई लाग्यो कि हाम्रो देशमा पनि त्यही समस्या देखा पर्नेछ, किनकि कोरोनाभाइरसको संक्रमण हाम्रो देशमा पनि बढ्दै गइरहेको थियो ।’
मार्टिन सेरेले आफ्ना साथीसँग मिलेर पोमो नामको स्टार्ट अप कम्पनी खोलेका थिए, जो हृदयघातका बिरामीका लागि कृत्रिम अङ्ग बनाउने काम गर्दथ्यो । अहिले मार्टिनको कम्पनीले त्यो काम छाडेर भेन्टिलेटर बनाउनेतिर ध्यान दिन थालेको छ ।
भेन्टिलेटरको माग बढ्दो
कोरोना महामारीका कारण अहिले विश्वमै भेन्टिलेटरको माग बढ्दो छ । विश्वमा भेन्टिलेटरको माग जति छ, हाल अस्पतालहरुमा त्यसअनुसार उपलब्ध हुन सकेको छैन । विकसित मुलुक होस् या विकासशील मुलुक होस्, सबैलाई भेन्टिलेटरको कमी भइरहेको छ ।
लन्डनको इम्पिरियल कलेजको एउटा रिपोर्टअनुसार कोरोनाभाइरसका संक्रमितमध्ये ३० प्रतिशतलाई उपचारका लागि भेन्टिलेटर आवश्यक पर्दछ । आइसीयुमा बिरामीहरुको बढ्दो चापलाई रोक्नका लागि ‘लकडाउन’ एउटा तरिकाका रुपमा अपनाइएको छ । किनकि यसबाट सामाजिक सम्पर्क ७५ प्रतिशतभन्दा कम हुन्छ । तर कयौँ मुलुकले ‘लकडाउन’ मा ढिला गरे । जुन मुलुकले ‘लकडाउन’ घोषणा गरे, तिनले पनि महिनौँसम्म सामाजिक दूरी झेल्न सक्लान् त भन्ने प्रश्न उब्जिएको छ ।
परिणामस्वरुप विश्वका कयौँ मुलुकमा भेन्टिलेटरको माग अप्रत्याशित रुपमा बढ्ने आशंका गरिएको छ । यसको उदाहरणका रुपमा अमेरिकाको न्यूयोर्क राज्यका गभर्नरको अपिललाई लिन सकिन्छ, जसले ट्रम्प प्रशासनसँग ३० हजार भेन्टिलेटर उपलब्ध गराउन आग्रह गरेका थिए ।
भेन्टिलेटरको डिजाइन
कामकै कुरा गर्ने हो भने भेन्टिलेटर कुनै जटिल मेशिन होइन । वास्तवमा यो एउटा परिस्कृत पम्प हो जसले श्वास फेर्न कठिन हुने मानिसको फोक्सोमा अक्सिजन पु¥याउँछ र कार्बन डाइ अक्साइडलाई बाहिर निकाल्छ । अर्थात् मानिसको फोक्सोलाई श्वास फेर्न यसले सघाउँछ ।
त्यसो भए यसको डिजाइन गर्न त्यति कठिन हुन्छ र ? प्रश्न स्वाभाविक रुपमा उठ्न सक्छ । भेन्टिलेटरको काम गर्ने तरिका त्यति जटिल नभए पनि यसले गर्ने काम भने निकै समवेदनशील हुन्छ । अर्थात् यसमा मानिसको जीवन नै दाउमा लागेको हुन्छ ।
कोलम्बियाका इन्जिनियर मोरिसियो टोरो भन्छन्, ‘यदि भेन्टिलेटर फेल भयो भने मानिसको मृत्यु हुने आशंका बढ्छ, त्यसैले पनि यसको निर्माण निकै मुस्किल मानिन्छ ।’
मोरिसियोले मेडेलिन नामक एउटा समूहसँग मिलेर सार्वजनिक रुपमा उपलब्ध संशाधनबाट तीन भिन्न प्रकारका भेन्टिलेटर तयार गरेका छन् ।
गम्भीर प्रश्न
कोरोनाभाइरसका कारण आइसीयुमा चिकित्सकले धेरैभन्दा धेरै बिरामीलाई हेर्नुपर्ने हुन्छ । यस्तोमा बिरामीका लागि श्वास फेर्न सहयोगी भेन्टिलेटरको काममा कुनै प्रकारको प्रश्नको जोखिम उठाउन सकिदैँन ।
त्यसलाई विश्वासिलो बनाउने एउटै तरिका भनेको लामो समयसम्म त्यसको परीक्षण गर्नु हो ताकि त्यसमा कुनै प्रकारको कमी–कमजोरी नहोस् र त्यस्ता कमी–कमजोरी पाइए सच्याउन सकियोस् ।
सामान्य अवस्थामा यसको परीक्षण गर्न निकै समय लाग्छ । तर अहिले परीक्षणका लागि त्यति लामो समय उपलब्ध छैन । कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएको अवस्थामा तत्काल भेन्टिलेटरको आवश्यकता महसुस भएको छ । किनकि वैज्ञानिकहरु कोरोनाभाइरसको खोप तयार हुन अझै कम्तीमा डेढ वर्ष लाग्न सक्ने बताउँछन् ।
संघर्ष जारी
सबैजसो देशका सरकार र स्वास्थ्य अधिकारीहरुलाई भेन्टिलेटरको यो चुनौतीको राम्रो जानकारी छ । बेलायत सरकारले आगामी दुई सातामा एक हजार दुई सय नयाँ भेन्टिलेटर अस्पतालहरुलाई उपलब्ध गराउने भएको छ ।
बेलायतमा कोरोनाभाइरस चरम उत्कर्षमा पुग्दा त्यहाँ ३० हजार भेन्टिलेटर आवश्यक पर्ने विज्ञहरु बताउँछन् । त्यसैले बेलायत सरकारले अन्य उपकरण बनाउने कम्पनीहरुलाई पनि युद्धस्तरमा भेन्टिलेटर निर्माण गर्न भनिरहेको छ ।
विश्वमा मेडिकल उपकरण बनाउने एउटा ठूलो कम्पनी हो फिलिप्स । सो कम्पनीका अधिकारीहरुका अनुसार अहिले अन्य उपकरण बनाउन छाडेर भेन्टिलेटर निर्माणमै सारा जोड लगाउन थालिएको छ । यसका लागि कर्मचारीहरुको शिफ्ट बढाइएको र थप कामदार राख्न थालिएको छ । अरु काम गर्ने कर्मचारी तथा कामदारलाई पनि भेन्टिलेटर निर्माणमै परिचालन गरिएको छ ।
चीनमा काम बन्द
विश्वका विभिन्न कम्पनीहरु भेन्टिलेटर निर्माणमा जुटेका छन् । किनकि विश्वमै भेन्टिलेटरको सबैभन्दा ठूलो सप्लायर मानिएको चीनमा पहिलादेखि नै काम बन्द छ ।
फर्मुला वन रेससँग आवद्ध कम्पनी पनि अहिले भेन्टिलेटर निर्माणमा जुटेको छ । भ्याकुम क्लिनर बनाउने कम्पनी ‘डायसन’ ले पनि १० हजार भेन्टिलेटर निर्माण गर्ने अर्डर प्राप्त गरेको छ ।
सुत्दा श्वास फेर्न कठिन हुने बिरामीका लागि मास्क निर्माण गर्ने कम्पनी स्मिथ्स मेडिकलले पनि भेन्टिलेटर र मास्क बनाउने काम गरिरहेको छ । यस अतिरिक्त मेडिकल र इन्जिनियरिङका विशेषज्ञ पनि सजिलैसँग उपलब्ध हुने सामानबाट भेन्टिलेटर निर्माणमा जुटेका छन् । साथै एउटै भेन्टिलेटरबाट एकभन्दा बढी बिरामीको उपचार हुन सक्ने तरिकाबारे पनि विज्ञहरुले मेहनत गर्न थालेका छन् ।
विकासशील देशले के गर्लान् ?
विकसित देशसँग यतिधेरै संशाधन छ कि उनीहरुले भेन्टिलेटरको उत्पादन बढाएर माग पूरा गर्न सक्छन् । तर विकासशील देशसँग त्यति संशाधन उपलब्ध छैन ।
विकसित र धनी मुलुकमै भेन्टिलेटरको माग यति बढिरहेको छ कि यसको मूल्य पनि आकाशिएको छ । न्यूयोर्कको कर्नेल युनिभर्सिटीकी लेक्चर एन्ड्रिया इप्पोलिटो भन्छिन्, ‘यदि भेन्टिलेटरको माग नहुने हो भने कसैले पनि यो निर्माण गर्ने जोखिम उठाउने थिएनन् ।’
उनका अनुसार श्वास नै फेर्न नसक्ने अवस्थामा हजारौँ, लाखौँ मानिस हुन्छन् भने अरु कुनै विकल्प बाँकी रहँदैन । त्यसैले पनि विश्वमा अहिले हजारौँ विशेषज्ञ, उद्यमी, स्वयंसेवीहरु विभिन्न प्रकारले समस्या समाधानमा जुटेको उनको भनाइ छ ।
यसका लागि सहज रुपमा उपलब्ध संशाधनबाट भेन्टिलेटर बनाउने प्रयास भइरहेको र त्यस्ता डिजाइनसमेत सार्वजनिक रुपमा उपलब्ध गराउन थालिएको उनले बताइन् ।
प्रोटोटाइप भेन्टिलेटर
अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका विकासशील देशका मानिसले उपलब्ध डिजाइनबाट आफ्नो लागि भेन्टिलेटर बनाउन सकुन् र त्यसमा कपिराइट पनि नलागोस् भनेर विशेष डिजाइन बनाइँदैछ । यस्तो डिजाइन बनाउनेहरु तीव्र गतिमा काम गरिरहेका छन् । मार्च महिनामा मात्र दर्जनभन्दा बढी संख्यामा प्रोटोटाइप भेन्टिलेटर इन्टरनेटमा उपलब्ध गराइएको छ ।
यसबारे विभिन्न सोशल मिडियाबाट सबैतिर जानकारी उपलब्ध गराउन थालिएको छ । आयरल्याण्डको राजधानी डब्लिनको विश्वविद्यालयमा पढाउने कलिन क्यो ‘थ्री डी’ प्रविधिका विज्ञ हुन् । उनले सामुदायिक रुपमा उपलब्ध संशाधनबाट भेन्टिलेटरको पहिलो प्रोटोटाइप बनाइसकेका छन् जो एम्बुलेन्समा प्रयोग हुने ‘एम्बु ब्याग’ जस्तै काम गर्दछ ।
सहज उपलब्ध
कलिन भन्छन्, ‘हामी यस्तो इमरजेन्सी भेन्टिलेटर बनाइरहेका छौँ जो तत्काल काम आओस्, ताकि कहीँ भेन्टिलेटरको कमी हुनासाथ प्रयोगमा आउन सकोस् ।’
पोमोका संस्थापक मार्टिन सेरेको पनि यही उद्देश्य छ । तर उनी ‘थ्री डी’ प्रिन्टिङबाट तयार संशाधनभन्दा पनि सहजै उपलब्ध हुने पार्टपूर्जाबाट भेन्टिलेटर तयार पार्दैछन् । जस्तो कि, एउटा तार, ब्याग बाँध्ने एउटा स्ट्यान्ड जो आल्मुनियमबाट बनाउन सकिन्छ, एउटा इलेक्ट्रोनिक मोटर जो कुनै हार्डवेयर पसलमा किन्न सकिन्छ ।
यस्तै, अक्सफोर्ड विश्वविद्यालय र लन्डन किङ्ग्स कलेजले अक्सभेन्ट नामको प्रोजेक्ट सुरु गरेका छन् जो प्रोटोटाइप भेन्टिलेटर विकसित गरिरहेको छ ।
लन्डन किङ्ग्स कलेजका वरिष्ठ लेक्चर फेडरिको फोर्मेन्टी भन्छन्, ‘यो आम अस्पतालमा प्रयोग भइरहेकोजस्तो त्यति जटिल उपकरण होइन, तर सुरक्षा र कामका हिसाबले भने त्यस्तै हुन्छ ।’
बाधा पनि उत्तिकै
यस्ता मेशिनका मद्दतले पुराना भेन्टिलेटरजस्तै काम लिन सकिन्छ ताकि इमरजेन्सी अवस्थामा मानिसलाई मद्दत पुगोस् । फोर्मेन्टीको टिमले यस्ता भेन्टिलेटर सहज रुपमा उपलब्ध सामानबाट नै बनाइरहेको छ जो बजारमा सहज रुपमा प्राप्त होस् र अन्य मुलुकले पनि यसलाई आफै उत्पादन गर्न सकुन् ।
यी प्रोटोटाइप भेन्टिलेटरमा सबैभन्दा ठूलो समस्या भनेको अमेरिकाको एफडिए या बेलायतको एमएचआरए जस्तो मानक तय गर्ने संस्थाहरुको मञ्जुरी हासिल गर्न समय लाग्नु नै हो । कोरोना महामारीको यो अवस्थामा त्यति समय छैन ।
त्यसैले अनुमतिका लागि समय गुमाउनु भन्दा कयौंले दोस्रो बाटो अपनाउन थालेका छन् । जस्तो कि, कृत्रिम फोक्सोमा भेन्टिलेटर परीक्षण गर्ने । यो परीक्षण पास भएपछि चिकित्सकले उनीहरुको भेन्टिलेटर प्रयोग गर्न हिच्किचाउने छैनन् भन्ने विश्वास उनीहरुमा छ ।
प्रविधिको प्रयोग
भेन्टिलेटर बनाउनका लागि आवश्यक पार्टपूर्जा सही हुनु पनि एउटा चुनौती नै छ । किनकि भेन्टिलेटर हुँदै अक्सिजन पास हुन्छ र सबै पार्टपूर्जा चलायमान हुन्छ । यस्तोमा आगो लाग्न नसक्ने सामान हुन जरुरी हुन्छ ।
‘थ्री डी’ प्रिन्टिङबाट उपकरण किटाणुरहित हुन्छ । तर यसमा प्रयोग हुने प्लास्टिक सफा राख्न मुस्किल हुन्छ । त्यसैले कुनै हिस्सा प्रयोग भइसकेपछि फाल्न मिल्ने र फेर्न मिल्ने बनाउन पनि उत्तिकै जरुरी हुन्छ ताकि एक पटक प्रयोग भइसकेपछि पूरै मेशिन बेकार नहोस् ।
डिजाइनमा देखिएका यस्ता कमी कमजोरीलाई इन्जिनियरले पूर्ण रुपमा हटाएको अवस्थामा समेत चिकित्सकका लागि प्रयोग गर्न सजिलो हुन उत्तिकै जरुरी छ । तबमात्र यो संकटमा त्यस्तो भेन्टिलेटर उपयोगी हुन सक्छ । भेन्टिलेटर त्यस्तो होस्, जसको प्रयोगका लागि अस्पतालका कर्मचारीलाई धेरै तालिमको जरुरी नहोस् ।
समय र श्रम बर्बाद नहोस्
फोर्मेन्टी र अक्सभेन्टको टिमले अहिले अस्पतालमा उपलब्ध भेन्टिलेटरलाई नै सजिलोगरी बनाउने विकल्प खोजिरहेका छन् ताकि त्यो सजिलै बनोस् र चाँडो पनि होस् । साथै त्यसको प्रयोग पनि सजिलै हुन सकोस् । यस्ता २० प्रोटोटाइपको अध्ययनमा एउटामात्र सहज प्रयोग गर्न सकिनेखालको थियो ।
यस कामका लागि सबै स्वयंसेवी र उत्साही मानिसलाई यस काममा सहकार्य गराउन र समय तथा श्रमको बर्बादी नहोस् भन्ने नै मुख्य चुनौती हो ।
अमेरिकाको सफ्टवेयर डेभलपर डायना रोडरिग्ज भन्छिन्, ‘मानिसहरुको प्रयासलाई एकजुट गराउनु निकै ठूलो चुनौती हो । केहीले निकै मेहनत गरिरहेका छन् ।’ उनीहरुसँग धेरै जानकारी रहेको उल्लेख गर्दै उनी भन्छिन्, ‘तर यो जटिल विषय हो, त्यसैले लक्ष्य सफा हुनुपर्छ र काम बाँडफाँट हुनुपर्छ ताकि कम समयमा अधिक काम होस् ।’
चुनौतीबाट पार पाइन्छ !
सबैसँग उस्तै क्षमता हुँदैन । त्यसैले आफ्नो काममा जो माहिर छन्, उनीहरुले फाइदा उठाउन जरुरी हुन्छ । सौभाग्यवस्, सार्वजनिक रुपमा सफ्टवेयर र प्रविधि उपलब्ध गराउने आन्दोलनसँग विभिन्न देशमा काम गरिरहेका समूहलाई कसरी एकजुट र संगठित बनाउने भन्ने राम्रो अनुभव छ । सोही अनुभवका आधारमा अहिलेको चुनौतीबाट पार पाउन सकिने विज्ञहरुको विश्वास छ ।
अधिकांश डिजाइनर्स र भेन्टिलेटर बनाउनेहरुका लागि यो समस्या दोयम दर्जाको हो । तर उनीहरुको उद्देश्य अहम् छ । उनीहरु मानिसको जीवन बचाउनका लागि धेरैभन्दा धेरै भेन्टिलेटर बनाउन खोजिरहेका छन् ।
कोलिन भन्छन्, ‘यो काम गर्नु जरुरी छ, त्यसैले हामी निकै कम सुतेर भए पनि हजारौँ घण्टा यही उद्देश्यका लागि खटिरहेका छौँ । आफ्नो जीवनको आवश्यकतालाई पन्छाएर भए पनि मानिसको जीवनलाई मृत्युको मुखबाट पुग्नबाट बचाउन लागिरहेका छौँ ।’