काठमाडौं | अमेरिकाले पनि नेपालमा रहेका आफ्ना नागरिक र ग्रिनकार्ड होल्डरलाई फिर्ता गरेको छ। नेपालस्थित अमेरिकी दूतावासको अगुवाइमा तीन सय अमेरिकी नागरिक र अमेरिका स्थायी बसोवास भएकाहरू मंगलवार बिहान वासिङटन डीसीतर्फ लागेका हुन्। उनीहरू नेपालमा लकडाउन भएपछि अड्केका थिए। आफ्ना नागरिक अड्किएपछि मंगलवार बिहान कतार एअरलाइन्सको चार्टर उडानमा आफ्ना नागरिकलाई त्यसतर्फ लगेको दूतावासले जनाएको छ।
अमेरिकी राजदूत र्याण्डी बेरीले लकडाउन र हवाई उडान स्थगनका कारणले स्वदेश फर्कन नसकेकालाई फर्काउन अमेरिकी दूतावासको वेबपेजमार्फत पहल गरेका थिए। मुलुक फर्कन चाहेमा सम्पर्क गर्न भन्दै आह्वान गरेको उक्त सामाजिक सञ्जालको पोष्टले नै अधिकांश नागरिक दूतावासको सम्पर्कमा पुगेका थिए।
अमेरिकीले यहाँबाट डीसीको डुलेस विमानस्थल पुर्याउने गरी कतार एअरलाइन्स चार्टर गरेको थियो। त्यही चार्टरमा करिब तीन सयजनालाई मंगलवार लगेको हो। छुटेकालाई आगामी बिहीवार लैजाने तयारी पनि दूतावासले गरिरहेको अमेरिकी दूतावासले जनाएको छ। विभिन्न जिल्लामा अल्झिएका आफ्ना नागरिकलाई फर्काउन दूतावासले सूचना जारी गरेको थियो। सूचनाको आधारमा जम्मा भएका अमेरिकीलाई मंगलवार बिहान १० भन्दा बढी गाडीमा त्रिभुवन अन्तरराष्टिय विमानस्थलमा ल्याएर उनीहरूलाई चार्टर उडानमा पठाएको हो।
राजदूत स्वयंले आफ्ना नागरिकलाई यहाँ रहने वा जाने धारणा राख्दै आएका थिए। उनले मंगलवार आफ्ना नागरिक र अमेरिकामा स्थायी बसोवास गर्ने केही गैर आवासीय नेपालीलाई समेत उनले विमानस्थल पुगेर बिदाइ गरेका थिए। यसअघि यूरोपेली महासंघ (ईयू) ले आफ्ना नागरिक फिर्ता लगेको थियो। दुई विमान चार्टर गरेर जर्मनीले आफ्ना चार सय जर्मन र अन्य यूरोपेली मुलुकका नागरिक गरी ६०८ जना फर्काएको थियो। त्यस्तै अष्ट्रेलियाले बुधवार आफ्ना नागरिक फर्काउँदै छ। यूरोपेली र अमेरिकीले कतार एअरलाइन्स उपयोग गरे पनि अष्ट्रेलिया सरकारले भने नेपाल वायुसेवाको उपयोग गरेर आफ्ना नागरिक फर्काउने तयारी गरेको हो।
सबै विदेशीले आफ्ना नागरिकलाई काठमाडौं ल्याउनेदेखि अन्य सहकार्यमा नेपाल सरकारले गरेको सहयोगप्रति खुशी व्यक्त गर्दै असजिलो समयमा आफूहरूलाई साथ दिएको भन्दै आफ्नो मुलुकमा रहेका नेपाली नागरिकलाई पनि उत्तिकै ध्यान दिने जानकारी दिएका छन्।