प्रबक्ता अरुण सिंहको पहल मा कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित
वीरगंज संजाल
१८ चैत्र २०७६, मंगलवार १९:४७
४५१७
राजविराज | सप्तरीको बलान बिहुल गाउँपालका-३ मौवाहाका २६ वर्षीय हरेकृष्ण साह र २४ वर्षीय चन्द्र यादवलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार मनोज चौधरी कारबाहीमा परेका छन्।
नेपाल-भारत सीमा नाका बन्द र लकडाउनको समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका साह र यादवलाई निर्ममतापूर्वक कुटपिट गर्ने सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार चौधरी निलम्बनमा परेका हुन् ।
भारत बिहारको लौकहा बजारबाट दैनिक उपभोग्य सामाग्री किनेर घर फर्किरहेका उनीहरुलाई आइतबार सप्तरीको बलान बिहुल गाउँपालिकास्थित दशगजा क्षेत्रमा नियन्त्रणमा लिई चौधरीले निर्ममतापूर्वक कुटपिट गरेका थिए ।
सशस्त्र प्रहरी हवल्दार चौधरीले निर्ममतापूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। भिडिओमा कुटेर लाठी भाँचेको, लाठी भाँचिएपछि अर्को लाठी लिएर पुनः कुटपिट गरेको, घोप्टो पारेर कुटेको, कुहिना र घुँडा टेक्न लगाएर हिंडाएको देखिन्छ। कुटपिट गर्दा वरिपरि बालबालिका समेत छन्। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारी रोकथाका लागि खटिरहेको सशस्त्र प्रहरी बल देश र देशबासीको सुरक्षाका लागि खटिरहेको भन्दै सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र एसपी उद्धव न्यौपानेले आरोपित चौधरीलाई तत्काल निलम्बन गरिएको जानकारी दिए।
आदेशविपरित सर्वसाधारणलाई कुटेको आरोपमा चौधरीलाई निलम्बन गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको उनले बताए । भारतबाट अवैध रुपमा निरन्तर समान ओसारपसार गर्नेहरुलाई पटक-पटक सम्झाउँदा पनि नेपाल-भारत सीमानाका बन्द र लकडाउनको उपेक्षा गर्दै आएकाले दशगजा क्षेत्रमा नियन्त्रणमा लिई सम्झाउन खोज्दा गालीगलौज गरेकाले कुटपिट गरेको दाबी आरोपित चौधरीले गरेका छन् ।
लकडाउन उल्लंघन गरेको भन्दै निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएसँगै आलोचना हुन थालेपछि सशस्त्र प्रहरी बल, नेपालको हल्चोकस्थित मुख्यालयले छानविन सुरु गरेको जनाएको छ |