भक्तपुर | भक्तपुर नगरपालिकाले नगरभित्रको प्रतिघरपरिवार एक परिचयपत्र (पास) वितरण थालेको छ । लकडाउनमा समेत नगरवासी घरबाहिर आउन नछोडेपछि नपाले प्रतिघरपरिवार एकजनालाई घर बाहिर निस्कने पासको रूपमा परिचयपत्र वितरण गरेको हो ।
उक्त परिचयपत्र बाहकमात्रै घरपरिवारको लागि आवश्यक खाद्यान्न, तरकारी, औषधिलगायतको खरिद जस्ता कार्य गर्न पाउने व्यवस्था गरिएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
भक्तपुर नगर क्षेत्रमा लक डाउनको बेला पनि घर बाहिर निस्कने सर्वसाधारणको संख्या घटेको छैन । सर्वसाधारणको सुविधाको लागि बिहान र बेलुका तरकारी बजार तथा खाद्यान्न पसल खोल्ने क्रममा झन् सर्वसाधारणको भीड हुने गरेपछि त्यसलाई नियन्त्रण गर्न परिचयपत्रको व्यवस्था गरिएको उनको भनाइ थियो ।
वडा कार्यालयबाट उक्त परिचयपत्र लिन सकिने गरी व्यवस्था गरिएको थियो । जसअनुसार मंगलबार भक्तपुर नपाको वडा वडामा उक्त परिचयपत्र लिनेको लाम लागेको थियो ।
तरकारी बजारमा बढीभन्दा बढी भीड हुन थालेपछि सर्वसाधारणमा कोरोना भाइरसको संक्रमणको खतरा बढी हुने भन्दै नपाको आलोचना हुँदै आएको थियो । उक्त आलोचनापछि नपाले भक्तपुर नगर क्षेत्रमा पहिले सञ्चालनमा रहेका तरकारी बजार बन्द गरेको छ । ती बजारको सट्टा नपाले सर्वसाधारणलाई पायक पर्ने गरी वडा वडामा नयाँ बजारको स्थान निर्धारण गरिएको छ ।