लकडाउनको तेस्रो दिन, कालोबजारी फस्ट्यायो, लकडाउनको पुर्ण समर्थनमा बजार अनुगमन टोली
वीरगंज संजाल
१३ चैत्र २०७६, बिहीबार १०:५०
३२२५
लकडाउन उल्लंघन गर्नेलाई कारबाही गर्न प्रहरी पछि हटेको छैन । कारबाही गर्ने क्रममा बुधबार मात्रै समाचार संकलन गर्न हिँडेका न्युज २४ टेलिभिजनका पर्सास्थित क्यामेरापर्सन जाकिर हुसैनलाई हातपातका साथै केही बेरका लागि प्रहरीले थुनामा राख्यो । सञ्चारकर्मी जाकिरले प्रेस कार्ड देखाउँदै छाड्न अपिल गर्दा पनि प्रहरीले उनको अपिल स्विकार गरेन ।
लकडाउनका बेला घरमै रहनुस्, बाहिरका जानकारी हामी तपाई समक्ष पुर्याउँछौ भन्दै सर्वसाधरणका लागि समाचार संकलन गर्न हिँडेका सञ्चारकर्मीलाई हातपात सहित थुनामा राखिन्छ भने लकडाउन कति कडा छ भन्ने विषय यस घटनाबाट आकँलन गर्न सकिन्छ ।
त्यस्तै लकडाउनका बेला अत्यावश्यक वस्तुहरुको मुल्यमा कुनै वृद्धि नहुने भनेका सरकारका पदाधिकारीहरु सायद हिजोआज तरकारी किनमेलन बजार नगएको जस्तो छ । कालोबजारी नियन्त्रणका लागि खटिएको सरकारी अनुगमन टोलि पनि लकडाउनको समर्थनमा घरमै होलान् । उपभोक्ताले बजारमा ग्याँस पाएका छैनन् । सरकार भन्छ ग्याँसको कुनै कमी छैन । सरकारद्धारा जारी हेल्पलाईन नम्बर ११३७ मा फोन लागेको छैन । यस्तो बेला उपभोक्ता नठगिएर को ठगिनु ?
वीरगन्जको बजारमा सोमबार साँझसम्म खुद्रामा आलु किलोको ३० रुपैयाँ र प्याज ५५ रुपैयाँमा खरिद बिक्री भएको थियो । तर, मङलबार बिहान बजारमा आलु खुद्रामा किलोको ८० रुपैयाँ र प्याज किलोको १०० रुपैयाँमा बिक्री भइरहेको छ ।
यस्तै सोमबार साँझसम्म किलोको ८० रुपैयाँमा बिक्री भएको हरियो खुर्सानी मङगलबार विहान किलोको ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै गोलभेडाको भाउ ४० बाट बढेर ८० रुपैयाँ , भेन्टा ४० बाट बढेर ८० रुपैयाँ, मटरकोशा ५० बाट बढेर १ सय रुपैयाँ , काउली २० बाट बढेर ६० रुपैयाँ किलो पुगेको छ । हरियो तरकारीको मात्रै नभई अन्य खाद्य वस्तुको मुल्य दोब्बरले बढेको उपभोक्ताहरुको भनाई रहेको छ ।
स्थानिय प्रशासनको अनुगम एकदमै फितलो रहेको कारण व्यापारीले मनोपोली हिसावले भाउ बढाएको छ । सरकारले खाद्य वस्तुको पसल निर्वाध रुपमा संचालन गर्न भनेको भए पनि वीरगन्जमा केहि थोक विक्रेताहरुले खाद्य वस्तु अभाव रहेको भन्दै पसल बन्द गरेका छन् । लक डाउनमा दिन भरी खाद्य वस्तुका पसल बन्द हुँदा बिहान वेलुका समान खारिदारीको लागि ह्वतै उपभोक्ताहरुको भिडभाड हुने गरेको छ ।
स्थानिय प्रशासनले कालाबजारी गरेको पाइएमा हदै सम्मको कारवाही गर्ने बताएको छ । तर वीरगन्जमा व्यापारीहरुले खुल्याम खाद्य समानको भाउ बढाई रहदा स्थानिय प्रशासन मौन बसेको छ । जनताले लक डाउनको पूर्ण समर्थन गरेको भए पनि सहज रुपमा खाद्य समाग्रीको उपलब्धता चाहेका छन् । सरकारले असहज भए पनि जनतालाई कोरोना विरुद्धको यो अभियानमा सहयोग गर्न अपिल गरेको छ ।