अहिले महाव्याधिको आतंक फैलाउने नोबेल कोरोनाभाइरस के हो ? यसका बारेमा सही र सत्यतथ्य जानकारी अझै वैज्ञानिकहरुले थाहा पाइसकेका छैनन् । त्यसैले यो भाइरस र यसले गर्ने असरका बारेमा थरिथरिका जानकारीहरु प्रकाशमा आएका छन् । ती जानकारीहरुमध्ये कति सही छन् भने कति गलत र भ्रामक पनि । खासगरी कोभिड–१९ नाम दिइएको र वैज्ञानिक जगत्मा समेत भनेर कोड गरिएका यो नोबेल कोरोनाभाइरसका बारेमा व्यापक अध्ययन अनुसन्धानहरु भइरहेका छन् र नयाँ नयाँ तथ्यहरु पनि प्रकाशमा आएका छन् ।
हालसम्म प्रकाशमा आएका जानकारीहरुमध्येमा नोबेल कोरोनाभाइरस के हो भन्नेबारेमा सबैभन्दा प्रष्ट जानकारी पछिल्लो पटक प्रकाशमा आएको छ । सिंगापुरका स्वास्थ्य मन्त्री गान किम योङले दिएका जानकारी त्यसअनुसार नोबेल कोरोनाभाइरस यस्तो रहेछः
नोबेल कोरोनाभाइरस कोरोनाभाइरसकै परिवार समूहबाट आएको हो । यो समूहमा सार्सलगायत सामान्य रुघाखोकी फ्लू लगाउने मध्यम खालका भाइरसहरु पनि पर्छन् । अहिलेसम्म सहमति भएका स्वास्थ्य क्षेत्रको जानकारीअनुसार नोबेल कोरोनाभाइरसको संक्रमण अत्यन्तै छिटो फैलिन्छ तर यो सार्सभन्दा चाहिँ कम घातक देखिन्छ । उपलब्ध तथ्यांकहरुले देखाएअनुसार यो भाइरसको मानिसबाट मानिसमा सर्ने दर सार्सको भन्दा बढी छ । अहिलेसम्मका प्रमाणहरुले देखाएअनुसार, यो भाइरसको संक्रमण धेरैजसो संक्रमितले निस्काशित गर्ने तरल पदार्थहरु तथा तिनका कण (हाँच्छिउ गर्दा, खोक्दा) बाट हुने गर्छ । यसको अर्थ के हो भने संक्रमितबाट निस्कने त्यस्ता कणहरुले नोबेल कोरोनाभाइरस बोकेका हुन्छन् । संक्रमितले खोक्दा वा हाँच्छिउँ गर्दा निस्कने त्यस्ता कणहरुले छोटो दूरीमा संक्रमण फैलाइरहेको हुन्छ । त्यस्ता कणहरु निरोगीको आँखा, नाक, मुखको सम्पर्कमा हातको सम्पर्क वा अन्य माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आउँदा त्यस्ता व्यक्ति संक्रमित हुन सक्छन् ।
प्रष्ट रुपमा भन्दा अहिलेसम्म यो भाइरस हावाको माध्यमबाट फैलिन्छ कि फैलिँदैन भनेर प्रमाणहरु फेला परिसकेका छैनन् । अरु केही भाइरसहरु जस्तै चिकेन पक्स, सजिलै हावाको माध्यमबाट पनि सर्न सक्छ । त्यस्तो हावाबाट सर्ने भाइरसका लागि खोक्दा वा हाँच्छिउँ गर्दा निस्कने कणहरुले आँखा, नाक वा मुखको सम्पर्कमा आइबस्ने आवश्यकता नै पदैन । नोबेल कोरोनाभाइरस त्यो वर्गको भाइरसमा पर्दैन ।
नोबेल कोरोनाभाइरस सतहहरुको सम्पर्कबाट पनि सर्न सक्छ । यो भनेको जब संक्रमितले खोक्छ वा हाँच्छिउँ गर्छ, उसको नाक, मुखबाट निस्कने छिटाहरु विभिन्न सतहहरुमा खस्छ वा पर्छ । उदाहरणका लागि, टेबुल, चेयर आदि । त्यसरी खसेका वा टाँसिएका भाइरसहरु केही दिनसम्म जीवितै रहन सक्छ । जब त्यस्ता भाइरस भएको सतहलाई कसैले छुन्छ, उसको हातको माध्यमबाट ती भाइरस सर्न सक्छ । त्यस्तो भाइरस संक्रमण भएको हात घोएको छैन भने उसले नाक, आँखा वा मुख छुँदा ऊ पनि संक्रमित बन्न सक्छ । त्यसकारण हामीले हाम्रो हात धुने गर्नुपर्छ ।
हामीले संक्रमणका पक्का यकिन भएकाहरुलाई क्वारेन्टाइनमा राख्नुको कारण पनि यही नै हो ताकि संक्रमित भएकाहरु मल तथा होटल जस्ता सार्वजनिक स्थानहरुमा हिँडडुल गर्दा अरुलाई यो संक्रमण सार्ने सम्भावना कम रहोस् । कोरोनाभाइरसको सन्दर्भमा लक्षण देखिएका मानिसहरुबाट संक्रमण सर्ने खतरा बढी हुन्छ ।
कोरोनाभाइरसको संक्रमणबाट हामी जोगिने सबैभन्दा प्रभावकारी उपाय भनेकै व्यक्तिगत सरसफाइको अभ्यास बढीभन्दा बढी गर्नुनै हो । हामीले नियमित रुपमा साबुनपानीले हात धुने गर्नुपर्छ । साथै, हामीले हाम्रा हातहरुले अनुहार छोइबस्ने बानी पनि पन्छाउनुपर्छ ।