पोखरीमा खसेको खैनीको डब्बा झिक्न जाँदा डुबेर मृत्यु
वीरगंज संजाल
१२ चैत्र २०७६, बुधबार १९:०५
५०४९
वीरगन्ज । वीरगन्ज महानगरपालिका १ छपकैयाको नयाँ बस्तीमा रहेको वाटर ट्रिटमेन्ट प्लाण्टको पानी भण्डारण गरिने पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालीका कन्ट्रक्सनमा कार्यरत छपकैया घर भएका राजेन्द्र साह सोनार रहेका छन् ।महानगरका घर र नालाबाट उत्सर्जन हुने फोहोर पानी प्रशोधनका लागि महानगरपालिकाले नयाँवस्तीमा ट्रिटमेण्ट प्लाण्ट बनाएको छ । त्यही ट्रिटमेण्ट प्लाण्टको पोखरीमा डुबेर सोनारको मृत्यु भएको हो । बुधबार अपरान्ह ४ बजे तिर सू्र्ती (खैनी)को डब्बा पोखरीको पानीमा खसेपछि झिक्न भनेर गएका सोनार आफै चिप्लिएर पोखरीमा खसेर डुबेका हुन् । २० फिट गहिरो पानी रहेको पोखरीमा डुबेका सोनारलाई सशस्त्र प्रहरीको गोताखोरको टोलीले पोखरीमा डुबेको आधाघण्टा पछि मृत अवस्थामा फेला पारेको हो ।
सोनारको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए