अर्बौंको निर्माणमा महानगरको चरम लापर्बाही, दोस्रो बाइपास सडकः बनेसँगै भत्कनेक्रम शुरू
वीरगंज संजाल
७ चैत्र २०७६, शुक्रबार ०७:११
४९१९
वीरगंज | वीरगंज महानगरपालिकाले एडिबीको सहयोगमा निर्मित र निर्माणाधीन सडक, नालाको संरक्षण सम्बन्धनमा लापर्बाही देखाएको कारण अर्बौंको योजना बन्नेक्रमसँगै भत्कनेक्रम पनि शुरू भएको छ । मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत पहिलो चरणमा वीरगंजको दोस्रो बाइपासलगायतको सडक, नाला निर्माण भएकोमा अहिले सो सडकखण्ड क्रमशः भत्कनेक्रम जारी छ । ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्शनले दोस्रो बाइपास सडक सम्पन्न गरेर हस्तान्तरण गरेको तीन वर्ष भयो। तर यो अवधिमा सो सडकखण्ड र नाला मरम्मतको लागि महानगरपालिकाले एकपटक पनि काम गरेको छैन । जसले गर्दा कालोपत्र सडक ठाउँठाउँमा भत्किन शुरू भएको छ भने नालाको स्ल्याब पनि टुटफुट भइरहेको छ ।
निर्माण कार्य सम्पन्न भएपछि महानगरपालिकाले सो सडकखण्डमा तोकिएको मापदण्ड अनुसार सवारीसाधन सञ्चालन गर्नुपर्नेमा त्यस्तो नगरेको कारण चिल्लो सडक देखेर हेभी सवारीसाधनहरूसमेत गुडेको र सडकखण्डमा जथाभावी सवारीसाधन मरम्मत सम्भार गर्ने वर्कशपहरू सञ्चालन भएको कारण सडकखण्ड र नाला बिग्रेको बताइन्छ । नालाको स्ल्याबमा घर निर्माण गर्नेक्रममा तथा वर्कशपमा आउने सवारीसाधन जथाभावी पार्किङ गर्ने कारणले ठाउँठाउँमा स्ल्याब भत्किएको छ ।कालिका कन्स्ट्रक्शनका प्रबन्धक ठाकुर ढकालले सो सडकखण्ड तीन वर्षअघि महानगरलाई हस्तान्तरण गरेको र एक वर्षको मरम्मत सम्भारको अवधि बितेको पनि दुई वर्ष भइसकेको बताए । महानगरपालिकाले सो सडकखण्ड र नाला संरक्षणमा ध्यान नदिएको कारण अहिलेको अवस्था सिर्जना भएको उनको आरोप छ । एडिबीका परियोजना प्रबन्धक इन्जिनीयर शैलेन्द्र श्रेष्ठले जीप, कार, भ्यानलगायतका साना सवारीसाधनको प्रयोगको लागि निर्माण गरिएको सडकमा हेभी गाडीहरूसमेत गुडाइएको र निर्माण भएको तीन वर्षसम्म नाला सफाइ नगरिएको र नालाबाट पानी निस्किएर सडक भत्किएको बताए । उनले पनि महानगरपालिकाले संरक्षणमा ध्यान नदिएको कारण यो अवस्था सिर्जना भएको आरोप लगाएका छन् ।
दोस्रो बाइपास सडक साढे सात किलोमिटरको दूरीमा छ । अहिले अधिकांश ठाउँमा सडकको कालोपत्र भत्किने र नालाका स्ल्याबहरू फुटेको अवस्थामा यत्रतत्र देख्न सकिन्छ ।वीरगंज महानगरका नगरप्रमुख विजयकुमार सरावगीसँग यसबारे बुझ्दा उनले यसबारे आपूmले अनुगमन गर्ने भनी प्रतिक्रिया दिए । उनले मरम्मत सम्भार र संरक्षणका बारेमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।यसैबीच, दोस्रो चरणमा एडिबीकै सहयोगमा वीरगंजमा बनिरहेको अढाई अर्बको लगानीको बाइपास सडकको अवस्था पनि दोस्रो बाइपाससरह हुने देखिएको छ । साढे सात किलोमिटर लम्बाइको बाइपास सडकलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण शुरू गरेको ठेकेदार कम्पनीले महानगरपालिकाको गैरजिम्मेवारीपनको कारण दोस्रो बाइपासको हविगत हुने चेतावनी दिएको छ । ठेकेदार कम्पनीका प्रबन्धक ढकालले बाइपास सडकमा पनि जथाभावी नालामा बस पार्किङ गर्ने, सो क्षेत्रमा वर्कशपहरू, बस बनाउने कारखाना रहेका र मानिस आवतजावत गर्नको लागि निर्माण गरिएको फुटपाथ नालाबाट सवारीसाधन आवतजावत गराइएको कारण दीर्घकालसम्म टिकाउ नहुने बताएको छ । बनाउनेक्रमसँगै भत्कनेक्रम पनि जारी रहेकाले सो सडकखण्डको अवस्था पनि दोस्रो बाइपासजस्तो हुने प्रबन्धक ढकालले बताए । prateekdaily