विद्यार्थीहरुको स्वास्थ्य बारे विद्यालय जिम्मेवार, कोरोनाबाट बच्न विद्यार्थीलाई मास्क !
वीरगंज संजाल
६ चैत्र २०७६, बिहीबार १४:५८
५७७९
वीरगञ्ज | कारोना भाईरसको संक्रमणबाट बच्नका लागि मुनलाईट माविले आफ्ना विद्यार्थीहरुलाई मास्क वितरण गरेको छ । वीरगञ्ज कारागार तथा मुनलाईट माविको समन्वयमा विद्यार्थीहरुलाई मास्क तथा जनचेतनामुलक पर्चा प्रदान गरिएको हो ।बुधबार बसेको नेपाल सरकारको कोरोना रोकथाम समन्वय समितीको निर्णय बमोजिम र प्याब्सन पर्साको आकस्मिक बैठकले जारी गरेको निर्देशनुसार विद्यालय अर्को सुचना जारी नहुन्जेल सम्मका लागि बन्द गरिएको छ ।
कारागार प्रमुख श्रवण कुमार पोखरेल, वडा नं ५ का अध्यक्ष प्रदिप चौरसिया को उपस्थितीमा विद्यार्थीहरुलाई मास्क तथा पर्चा प्रदान गरिएको थियो ।विद्यार्थीहरुलाई प्रदान गर्न मास्क खरिद गर्न जाँदा बजारमा मास्कको अभाव देखिएका कारण केही मास्क कारागार कार्यालय पर्साले सहयोग स्वरुप प्रदान गरेको विद्यालयका प्रबन्ध निर्देशक सुलभ के.सीले बताए । कारागारबाट मास्क प्राप्त भएपछि केही राहत महशुस भएको उनको भनाई छ ।
बजारमा भेटिएका मास्क उचित मुल्यभन्दा दोब्बर(तेब्बरमा खरीद गर्नुपरेको उनले बताएका हुन् । सरकारले बजारमा कालोबजारी विरुद्धको अनुगमन तीब्र पारेको बताएपनि बजारमा कालोबजारी व्याप्त रहेको केसीको गुनासो छ । विद्यार्थीहरुलाई प्रदान गरिएका केही मास्क कारागार भित्र रहेका कैदिबन्दीहरुले बनाएको कारागार प्रमुख पोखरेलले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै कारागार प्रमुख पोखरेलले बजारमा मास्कको अभाव भएका बेला कैदीबन्दीहरुले मास्क बनाउन सुरु गरेको बताए ।
उनका अनुसार बजारमा उचित मुल्यभन्दा दोब्बरमा मास्क बेचिएपनि कैदीबन्दीहरुले बनाएका मास्कको मुल्य बढीमा २० रुपैया कायम गरिएको छ् । महामारीका बेलामा विद्यालयले आफ्ना विद्यार्थीहरुलाई मास्क प्रदान गर्नु सराहनिय कार्य भएको भन्दै उनले विद्यालयको उच्च प्रशंसा गरेका थिए ।कार्यक्रममा वडा नं ५ का अध्यक्ष प्रदीप चौरसिया, विद्यालयका प्रधानाध्यापक श्याम केसी लगायतकाले कोरोनाबाट बच्ने उपायका बारे प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण सञ्जारकर्मी उज्जवल शर्माले गरेका थिए ।