मदिरा सेवनका कारण ज्यान गुमाएकाको परिवारलाई वडा अध्यक्ष साहको सहयोग
वीरगंज संजाल
५ चैत्र २०७६, बुधबार १६:१२
४०६९
जनकपुरधाम | मदिरा सेवनका कारण ज्यान गुमाएकाको परिवारलाई जनकपुरधाम उप–महानगरपालिका–७ का वडा अध्यक्ष जानकीराज साहले राहत वितरण गर्नुभएको छ । वडा अध्यक्ष साहसहितको टोलीले मृतकका परिवारलाई भेटेर २५-२५ किलो चामल, २५-२५ किलो आलु, नून, साडीलगायत वितरण गरेका हो । त्यस्तै, प्रति परिवारलाई किरिया खर्च स्वरुप २ हजार ५ सयका दरले तत्कालका लागि सहयोग गरेको छ ।
राहत वित्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष साहले मृतक परिवारलाई यो राहत तत्कालका लागि आफूहरुले मिलेर उपलब्ध गराएको बताउनुभएको छ, भने थप सहयोगका लागि उपमहानगर र प्रदेश सरकारसँग समन्वय गरिरहेको बताउनुभयो । यसैबीच वडा अध्यक्ष साहले मुसहरी टोलका सबैलाई मदिरा सेवन नगर्न आग्रह समेत गर्नुभएको छ । यदि कसैले मदिरा सेवन गरेको पाइएमा सहयोग गर्नुको साटो वडाले कारवाही गर्ने चेतावनी समेत दिनुभएको छ ।
गत फागुन २९ गतेदेखि चैत ४ गेतसम्ममा मदिरा सेवनका कारण जनकपुरधाम उप-महानगरपालिका–७ मा मिथिला सदा, झगरु सदा, बनारसी देवी सदा, जितेन्द्र सदा, दिनेश सदा, रामोदेवी सदा र रामरती देवी सदाले ज्यान गुमाइसकेका छन् । मृतक परिवार मध्येका एक जनाले भने, ‘अहिले हामी धेरै दुःखको घडीमा छौं । हामीले आफ्नो अभिभावकलाई गुमाएका छौं । तर, यस्तो संकटको समयमा पनि जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साह अहिलेसम्म हामीलाई एक पटक हेर्न समेत आएका छैनन् । के हामी यहाँको स्थानीय होइनौं र ?’ राहत वितरण कार्यक्रममा वडाअध्यक्ष साहसँगै वडासदस्यहरु नाजिर हुसैन, सन्तोष सरवरिया, रामराजी देवी दासलगायत पनि उपस्थित थिए ।