कोरोना प्रभावित देशहरु सङ्क्रमण रोक्नेसँगै आर्थिक प्याकेजकाे तयारीमा, पछिल्लो २४ घण्टामै ८ सयभन्दा धेरैको ज्यान गयो
वीरगंज संजाल
५ चैत्र २०७६, बुधबार ०६:३८
४१२१
काठमाण्डाै | काेराेना भाइरस (कोभिड–१९) काे सङ्क्रमणबाट निम्तिएकाे आर्थिक सङ्कट टार्न विभिन्न देशले विशेषा प्याकेजहरु घोषणा गरिरहेका छन् ।
अमेरिकाले झण्डै एक ट्रिलियन डलर बराबरको सहायता प्याकेजको घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले परिवार र व्यवसायका लागि सहयोग गर्ने कार्यक्रम घोषणा गरेका छन् । युरोपियन युनियन (ईयू) ले पनि सबै गैरआवासीय यात्रामा प्रतिबन्ध लगाउँदै सदस्य राष्ट्रहरुमा राहतको प्याकेज चाँडै तयार हुने बताएको छ ।
चीनले यसअघि नै आफ्नो देशमा माहामारी नियन्त्रण नजिक रहेको भन्दै उत्पादन र अन्तर्राष्ट्रिय सहयोगका कार्यक्रम घोषणा गरिसकेको छ । सङ्क्रमण फैलिएका देशहरुले माहामारी नियन्त्रणका कार्यक्रमसँगै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न नदिने विशेष कार्यक्रमहरु पनि घोषणा गरिरहेकाे बीबीसीले जनाएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म एक सय ६५ देशमा पुगिसकेको छ । एक लाख ९८ हजारभन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएकोमा साढे ८१ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् ।
सात हजार ९ सय ६५ जनाको ज्यान गइसकेको छ । इटली, इरान, स्पेन, फ्रान्स, अमेरिका, दक्षिण कोरिया, बेलायत, नेदरल्याण्ड, स्विजरल्याड, जर्मनी लगायतका देशहरुमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ ।