कोरोना भाईरस मध्यनजर गर्दै वीरगंज कारागार भित्र रहेका कैदिबन्दी भेटघाटमा उच्च सतर्कता
वीरगंज संजाल
४ चैत्र २०७६, मंगलवार १२:४४
४७८५
वीरगंज | कोरोना भाईरसका कारण उत्पन्न हुन सक्ने खतरालाई मध्यनजर गर्दै वीरगंज कारागार भित्र रहेका कैदिबन्दी भेटघाटमा उच्च सतर्कता अपनाईएको छ ।भारतमा कोरोना संक्रण देखिसकेको अवस्थामा भारतसँगको सिमानाकाबाट डेढ किलोमिटरको दुरीमा रहेको उक्त कारागारमा समेत संक्रमणको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाईएको कारागार प्रमुख श्रवण कुमार पोखरेलले बताउनुभयो ।
एक हजार क्षमता भएपनि एक हजार तीन सय आठ कैदिबन्दी राखिँदै आएको कारागारमा भारतीय कैदिबन्दीको संख्या मात्रै दुई सय १५ रहेको छ । उनिहरुलाई भेट्न आउने आफन्तबाट समेत कोरोना संक्रमणको जोखिम रहने भन्दै भेटघाटलाई ब्यवस्थीत बनाईएको उहाँको भनाई छ । कारागार प्रमुख पोखरेलका अनुसार अर्को सुचना जारी नभएसम्मका लागि एक जना कैदी बन्दीसँग परिवारका एक सदस्यलमई उच्च सतर्कताका साथ बढीमा १५ मिनेट भेट गर्न दिईने छ ।
भेट्न जाने व्यक्तिमा ज्वरो, रुघा खोकी लगायत कुनै किसिमको संक्रमण भएगरेको छ वा छैन जाँच गरेर मात्रै अनुमती दिइने उहाँले बताउनुभयो । त्यसका लागि कारागारभित्रै थर्मल स्क्यानरसहित हेल्थ डेस्क राखिएको पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार भेट्न जाने हरेक सदस्यले अनिवार्य हात धुनुपर्ने र भेटका क्रममा दुबैले अनिवार्य मास्क लगाउनुपर्ने ब्यवस्था गरिएको छ । बजारमा मास्कको अभाव हुँदै गएका कारण कारागारभित्रै मास्क उत्पादन गरी कैदिबन्दीलाई निःशुल्क र तिनका आफन्तहरुलाई न्युनतम मुल्यमा उपलब्ध गराईएको उहाँले बताउनुभयो । साथै कैदिबन्दीका लागि परिवारले लगीदिने खाद्य पदार्थमा समेत अर्को सुचना जारी नभएसम्मका लागि रोक लगाईएको छ ।