रौतहट । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९ – ) संक्रमणबाट बचाउन रौतहटमा विद्यार्थीहरुलाई मास्क वितरण गरेको छ ।रौतहटका एक व्यक्तिले आफ्नै खर्चमा मास्क तयार गरेर विद्यार्थीहरुलाई बाँडिरहेका छन् । पेसाले मेकानिक रहेका चन्द्रपुर – ६ निवासी बलीराम चौधरीले आफ्नो व्यक्तिगत पहलमा सोमबार साना विद्यार्थीहरुलाई ३ सय थाने मास्क वितरण गरेका हुन् ।
चन्द्रपुर – ६ मा रहेको श्री आधारभूत विद्यालय बेल्डीमा २ सय थान र हातेमालो प्राविका विद्यार्थीहरुलाई सय थान मास्क निशुल्क वितरण गरिएको चौधरीले बताए । कोरोनाभाइरसबाट बालबालिकाहरु प्रवाभित हुन सक्ने भन्दै मास्क वितरण अभियान सुरु गरेको चौधरीले बताए । मास्क वितरणसँगै उनले बालबालिकाहरुलाई कोरोनाभाइरस र यसबाट बच्ने उपायहरुको बारेमा पनि जानकारी दिए ।
हाल बजारमा मास्क किन्न नपाउने भएकाले चौधरीले विरगञ्जस्थित एक गार्मेन्टमा अर्डर दिएर कपडाको मास्क बनाउन लगाएर वितरण गरेको बताएका छन् । चौधरीले प्रति मास्कको लागि २० रुपैयाँ खर्च गरेको र आगामी दिनमा चन्द्रपुर नगरपालिकाका अन्य विद्यालयका विद्यार्थीहरुलाई पनि मास्क वितरण गर्ने योजना रहेको सुनाए ।