विषाक्त मदिरा प्रकरण : मृतकका परिवारलाई ३ लाख राहत दिइने
वीरगंज संजाल
३ चैत्र २०७६, सोमबार ११:४९
४९१७
जनकपुरधाम | विषाक्त मदिरा सेवनले मृत्यु भएका परिवारलाई प्रदेश-२ सरकारले जनही ३ लाख राहत उपलब्ध गराउने भएको छ। सोमबार बिहान धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको रमदैया पुगेर मुख्यमन्त्री लालबाबु राउतले राहतको घोषणा गरेका हुन्। उनले घटनाप्रति दु:ख व्यक्त गर्दै मृतक परिवारलाई ३/३ लाख राहत रकम उपलब्ध गराउने घोषणा गरे। विषाक्त खुल्ला मदिरा बिक्री वितरण तथा उत्पादन गर्ने जो कोहीलाई पनि कानुनको दायरामा ल्याउनेसमेत उनले प्रतिवद्धता जनाए।
मुख्यमन्त्री राउतले घटनामा संलग्नहरूको खोजी कार्य जारी रहेको बताए। उनले भने, ‘घटनामा संलग्नलाई कडा कारबाही हुनुपर्छ।’ उनले प्रदेश सरकार चाँडै प्रदेशलाई खुला मदिरा मुक्त घोषणा गर्ने तयारीमा जुटेको समेत बताए। रमदैया आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवसमेत पुगेका थिए। उनले आजै सुरक्षा समितिको बैठक बसी खुला मदिरा नियन्त्रणका साथै दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइने बताएका छन्। विषाक्त खुला मदिराको सेवनकै कारण रमदैया र जनकपुरधाममा गरी कुल २१ जनाको मृत्यु भइसकेको छ।
विषाक्त मदिरा सेवनकै कारण गाउँका धेरैजना अझै विभिन्न अस्पतालमा भर्ना भएर उपचार गराइरहेको अवस्था छ। प्रशासनले भने हालसम्म ९ जनाको मात्र मदिराले मृत्यु भएको बताएको छ। यता, नेकपा नेता तथा पूर्व-भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मदिराले मृत्यु भएका १४ परिवारलाई किरिया खर्चबापत जनही २० हजारको दरले रकम उपलब्ध गराएका छन्।