मदिरा सेवनबाट थप २ जनाको मृत्यु, २ दर्जन भन्दाबढी बिरामी
वीरगंज संजाल
२ चैत्र २०७६, आईतवार १५:११
५३२५
जनकपुरधाम | धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण थप २ जनाको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । आईतबार बिहान ४ बजे जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलका जितेन्द्र सदाको मदिरा सेवनका कारण मृत्यु भएको जनकपुर उप-महानपा–७ का वडा अध्यक्ष जानकी राम साहले जनाएका छन् । आजै बिहान ३ बजे लक्ष्मीनियाँ गाउँपालिका–५ का लगभग ३४ वर्षका विश्वनाथ यादवको पनि मृत्यु भएको हो । यादव गाउँपलिकाका भुपु उपाध्यक्ष भुटन यादवका छोरा हुन् ।
यता वार्ड ७ स्थित मुसहरीमा मृत्यु हुनबाट जोगाउन धामी-झाँक्रीहरुले देउतालाई पूजापाठ सुरु गरेका छन् । सिकिस्त भएकाहरुलाई देउताअगाडि राखेर पूजा पाठ गर्दैगर्दा स्थानीय प्रहरीले हस्तक्षेप गरेर टोलमा बिरामी भएकाहरुलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा लगेको छ । मुसहरी टोलका बनारसी देवी सदा, मिथिला सदा र झगरु सदाकाे पनि मदिरा सेवनका कारण मृत्यु भएकाे जनाइएकाे छ । होलीका अवसरमा रक्सी खाएका बनारसीदेवीको शुक्रबार साँझ तथा मिथिला र झगरुको शनिबार मृत्यु भएको हो ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा शुक्रबारसम्म १२ जनाको मृत्यु भइसकेको बताइएकाे थियाे । अत्यधिक मदिरा सेवन गरेर मृत्युहुनेको संख्या १७ भए पनि स्थानीय प्रशाशनले अहिलेसम्म आधिकारिक रूपमा ९ जनाको मात्र पुष्टि गरेको छ ।
उनीहरू सबैको शुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर मृत्यु हुने गरेको स्थानीयवासीले बताएका छन् । मदिरा सेवनकै कारण भरत मण्डल, ईश्वर महरा, शम्भु महरा, उपेन्द्र महरा र सीताराम यादव सिकिस्त बिरामी छन् । अहिले विषाक्त घरेलु मदिराले निम्त्याएको मानवीय क्षतिका कारण सारा रमदैया गाउँ नै शोकमा डुबेको छ । मदिरा सेवनबाट मृत्यु हुनेहरु प्रायः गरिब विपन्न र दलित समुदायका छन् ।