अत्याधिक तातो यो नयाँ ग्रहमा आकाशबाट पानीको सट्टा फलाम पर्छ !
वीरगंज संजाल
२ चैत्र २०७६, आईतवार ०६:२३
५३९७
बीबीसी । हाम्रो सूर्य मण्डल बाहिर फेला पारिएको ग्रहलाई ‘एक्जो–प्लानेट’ भनिन्छ । वैज्ञानिकहरुले त्यस्तै एउटा अत्यन्तै अनौठो एक्जो–प्लानेट पत्ता लगाएका हुन् । अत्याधिक तातो ग्यासले भरिएको सो ग्रहमा आकाशबाट पानीको थोपा नभएर फलाम वर्षिने गरेको बताइएको छ ।
‘वास्प–७६ बी नाम दिइएको सो ग्रहले ६४० लाइट इयर्स टाढा अवस्थित ‘पिसेस कन्सटेलेसन’ अर्थात ताराहरुको समुहमा हाम्रो सूर्य जस्तै एक ताराको परिक्रमा गरिरहेको पाइएको हो । यसमा पृथ्वीले सूर्यबाट प्राप्त गर्ने किरणको तुलनामा हजारौँ गुणा बढी विकिरण सो ग्रहमा पर्ने गरेको पाइएको हो । युनिभर्सिटी अफ जेनेभा, स्वीट्जरल्यान्डका प्रोफेसर डेभिड रनरेच भन्छन्, “त्यसबीच हामीले अध्ययन गर्दैगर्दा सो ग्रहमा रात पर्दा आकाशबाट पानीको सट्टा फलाम वर्षिने गरेको पाएका हौँ । ” यो खोजबारे बुधबार ‘नेचर एस्ट्रोनोमी’ मा प्रकाशित गरिएको छ । यसमा सो ग्रह सधैँ ताराको एकतर्फ मात्र फर्किरहने गरेको बताइएको छ जुन हाम्रो चन्द्रमा र पृथ्वी जस्तै हुन्छ । सो ग्रहमा दिउँसो हुँदा त्यहाँको तापक्रम १ हजार ७ साय डिग्री सम्म पुग्ने गरेको उनीहरुले बताए ।
यो नयाँ रिसर्चका लागि अन्तरिक्षयात्रीहरुले ‘युरोपियन साउदर्न अब्जरभेटरी’ को अत्यन्तै ठूलो टेलिस्कोप र त्यसको ‘एसप्रेसो’ उपकरण प्रयोग गरेका थिए जुन चिलीको अटाकामा मरुभूमी स्थित जमिनमा आधाििरत टेलिस्कोप हो । त्यहाँबाट एक्जो–प्लानेट र त्यसको वायुमण्डल अवलोकन गर्न सकिन्छ । जसमा नै उनीहरुले ग्रहको आकाशबाट फलाम परिरहेको देखका हुन् ।
अनुसन्धानकर्ताहरुका अनुसार दिउँसोको समयमा त्यहाँको तापमान अति उच्च हुने हुँदा त्यसले धातुलाई वाफमा परिणत गर्न सक्छ र राति भइरहेको भूभागतर्फ हावाले उडाएर लैजान्छ जहाँको तापमान तुलनात्मक रुपमा कम हुन्छ । यस्तोमा धातुको वाफ बादल बनेर तरल अवस्थामा फलामको पानी पर्ने गरेको उनीहरु बताउँछन् । एरेनरिच भन्छन्, “तर आश्चर्यजनक रुपमा हामीले बिहान भइरहेको भूभागमा भने धातुको बाफ राम्ररी देख्न सकेनौँ । उता राति भइरहेको भूभागमा चाहिँ फलाम परिरहेको थियो जसकारण यो ग्रहलाई जटिल मानिएको छ । ”
नयाँ एसप्रेसो उपकरणकै कारण सो ग्रहमा यस्तो दृश्य देखिन सम्भव भएको बताइएको छ । वास्तवमा एसप्रेसो, हाम्रो सूर्य जस्तै तारा वरपर रहेका पृथ्वीको आकारको ग्रह पत्ता लगाउनका लागि निर्माण गरिएको थियो र २०१८ सेप्टेम्बरदेखि नै प्रयोग गर्न सुरु गरिएको हो । कुनैपनि नयाँ ग्रहको वायुमण्डल बुझ्न सक्नुले वैज्ञानिकहरुलाई त्यहाँको मौसम र वातावरणबारे जानकारी हासिल गर्न मद्दत गर्दछ । यसअघि पनि अत्यन्तै तातो सतह भएका ग्रहहरुका आकाशबाट पानीको सट्टा अनौठा धातुहरु पर्ने गरेको पत्ता लागिसकेको छ । जस्तै ‘नेप्चुन’ अर्थात वरुण ग्रहमा पनि हिरा पर्ने गरेको पत्ता लागेको थियो ।